नेकपा सचिवालय बैठक आज बस्ने


 


काठमाडौं, भदौँ ५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पुनःबस्ने भएको छ । थप गृहकार्य जरुरी रहेको भन्दै हिजोको बैठक आज बस्ने गरी सकिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायत विषयमा छलफल भए पनि थप गृहकार्य जरुरी रहेको भन्दै कुनै निर्णयमा पुग्न सकेन ।

बैठकमा ती विषय प्रवेश पाए पनि थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक आजका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाई समेत सम्पन्न गरी नयाँ सन्देश दिने तयारी गरेको जनाएको छ ।

यस्तै पार्टीका नेता माधवकुमार नेपालले दर्ता गराएको असहमतिका विषयमा भने कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। पार्टीका जनवर्गीय सङ्गठनको इञ्चार्ज चयन तथा अन्य केही विषयलाई लिएर नेता नेपालले सचिवालयले गरेको निर्णयमा असहमति जनाउनुभएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्