माधव नेपाल र प्रचण्डले भारतीय विदेश मन्त्रीलाई भेटेनन्


 


काठमाडौं, भदौं ५

भारतीय विदेश मन्त्री एस जयशंकरले आफु बसेकै होटलमा भेटका लागि बोलाएपछि दुई पूर्व प्रधानमन्त्रीले भेट अस्वीकार गर्नुभएको छ । अर्का दुई पूर्व प्रधानमन्त्रीले भने होटलमै पुगेर भेटवार्ता गर्नुभयो ।

कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न शिष्टाचारले नमिल्ने भन्दै पूर्व प्रधामन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जयशंकरसँग भेट नगर्नुभएको हो । अर्का दुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र बाबुराम भट्टराईले भने होटलमै पुगेर विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको छ ।

हिजो नेपाल आउनुभएका जयशंकरले आफु बसेको स्थान बत्तिसपुतलीस्थित होटल द्वारिकाजमै भेटका लागि निम्ता पठाएकामा दाहाल र नेपालले भेट अस्वीकार गर्नुभएको हो । दाहाललाई बिहान ८ बजे र त्यसपछि नेपाललाई आफू बसेकै होटलमा भेट्न बोलाइएको थियो । शिष्टाचारका कारण भेट गर्न नगएको बताइए पनि नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने कार्यव्यस्तताका कारण दुबै नेताले भेट गर्न नसकेको प्रतिक्रिया दिनुभयो ।

पूर्वप्रधानमन्त्रीद्वय देउवा र डा. भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उहाँ बसेकै होटल द्वारिकाजमै पुग्नुभएको थियो । यसअघि विदेशमन्त्री नियुक्त भएलगत्तै जयशंकरलाई बधाई दिएकामा पनि प्रोटोकल बाहिरको काम गरिएको भन्दै कांग्रेस सभापति देउवाको आलोचना भएको थियो । जयशंकरले उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गर्नुभयो ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्