रेनु दाहालले भनिन् – शालिग्राम आत्महत्या प्रकरणपछिको घटनाक्रम अराजक परिस्थिति


 


काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणपछि उत्पन्न परिस्थितिमा आफूसहित पिता प्रचण्डलाई जोडेर अनर्गल तथा भ्रामक गतिविधि भएको भन्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आपत्ती जनाएकी छिन् । ५ भदौमा प्रेस विज्ञप्तिमार्फत् उनले अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर आफूसँग जोडेर गालीगलौज गर्ने र अराजक परिस्थिति र्सिजना गर्ने प्रवृत्ति देखिएको बताएकी छिन् ।

घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी राज्यका उच्चपदस्य नेतृत्व एवं आफू स्वयंमाथि गालीगलौज गरिएकोप्रति दुःख व्यक्त गरेकी छिन् ।

रेनुको विज्ञप्तिमा भनिएको छ, ”घटनाको अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुका विषयलाई लिएर कतिपय व्यक्तिहरुबाट सडक एवं सामाजिक सञ्जालको दुरुपयोग गरी घटनासँग कुनै सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाका प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवं गालीगलौज गर्ने व्यक्तिको वैयक्तिक स्वतन्त्रता माथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद् कुरा हो ।’’

पुडासैनी आत्महत्या प्रकरणपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की समेतलाई अनुसन्धानका लागि पक्राउ गरिएपछि प्रदर्शनका क्रममा नेकपा अध्यक्ष प्रचण्ड र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालविरुद्ध नारावाजी भएको थियो । सामाजिक सञ्जालमा पनि उनीहरुविरुद्ध टिप्पणी भएका थिए ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्