रवि लामिछानेको विषयमा अफवाह फैलाउनेविरुद्ध प्रहरीको आक्रामक कारबाही


 


चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको विषयमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल र युट्युबमा घटनालाई मोड्न खोज्नेविरुद्ध प्रहरीले आक्रामक कारबाही थालेको छ ।

अनुसन्धानलाई नै प्रभावित पार्ने गरी प्रहरीमाथि लाल्छना लगाउने, भीडलाई उत्तेजित बनाउने, हुँदै नभएका काल्पनिक कुराहरु श्रव्यदृश्य, फोटो वा टेक्समार्फत सार्वजनिक गर्ने र भएका घटनालाई उत्तेजित पार्ने गरी प्रस्तुत गर्नेविरुद्ध प्रहरीले आक्रामक कारबाही थालेको जनाएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले घरघरमै पुगेर नियन्त्रणमा लिने र साइबर क्राइमको मुद्दा दर्ता प्रकृया सुरु गरिएको बताए । उनले फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीको निगरानी गरेर अभिलेख राख्न थालिएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार एक जनालाई पक्रेर कारबाही गरिसकेको जानकारी दिँदै एसपी मल्लले अब घरघरमै पुगेरै भए पनि गलत सामग्री प्रेषण गर्ने विरुद्ध प्रहरीले आक्रामक कारबाही थालेको बताए । सामाजिक सञ्जालमा प्रहरीका अधिकारी, राजनीतिक दलका नेता र केही व्यक्तिविरुद्धसमेत लामिछानेको समर्थन वा विरोधमा गलत काम भैरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, चितवनका विभिन्न ठाउँमा भएका प्रदर्शनबाट नियन्त्रणमा लिइएका झण्डै दुई दर्जनविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीमाथि आक्रमण गर्ने, भीडलाई उत्तेजित बनाउने र उश्रृङ्खल क्रियाकलापमा सामेल झण्डै दुई दर्जनविरुद्ध मुद्दा दर्ता गरिएको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका चर्चित सञ्चारकर्मी रवि लामिछानेको पक्ष र विपक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्