सञ्चारमन्त्री बास्कोटाले भने – युट्युवरले उत्तेजना फैलाए


 


काठमाडौँ । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री सम्प्रेषण हुने गरेको बताएका छन् ।

बिहीबार सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले न्याय सम्पादनको विषयमा सोसल मिडिया ट्रायल भइरहेको कुरा आएको बताउँदै अदालतको फैसला ट्रायल हुने बताए । अनुसन्धानलाई प्रभावित हुने तरिकाले यो ठीक हो, यो बेठीक हो भन्ने काम सामाजिक सञ्जालको नभएको उनको भनाइ थियो ।

उनले भने– ‘भक्तपुरमा कसले कोसँग मिलेर आमालाई मारिन्, निर्मला प्रकरण, पुलिस जता जान्छ अर्कोतिर अपराधी छ भनेको छ, पुलिसलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न पनि दिँदैन । कि जुलुस कि धर्ना कि होहल्ला मच्चाइदिने काम भएको छ ।’

सरकारले सूचना प्रविधि विधेयक संसदमा दर्ता गरेको मन्त्री बास्कोटाले जानकारी दिए । छिस्रिक्क केही भयो भने प्रजातन्त्रको दुहाई दिने, प्रेस खतरामा पर्यो भन्ने गरेको उनले बताए ।

उनले ठूला मिडिया हाउसमाथि पनि प्रश्न उठाउँदै मिडिया सामाजिक सञ्जालबाट प्रभावित भएर किन चल्दैछन् भनेर प्रश्न गरे । उनले सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री हुन नहुने बताए ।

प्रकाशित मिति: ५ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्