बाबुराम भट्टराई र कमल थापाबीच ट्वीटरमै दोहोरी


 


काठमाडौं, ६ भदौ।

समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री कमल थापाबीच सामाजिक सञ्जाल ट्वीटरमा दोहोरी चलेको छ। भारतीय विदेशमन्त्री जयशंकरलाई होटेलमा पुगेर भेटेको विषयलाई लिएर उनीहरूबीच दाेहाे चलेकाे हाे ।

दुईदिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री जयशंकरलाई पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बुधबार होटल द्वारिकाजमा पुगेर भेटेका थिए। भेटपछि डा. भट्टराईले उक्त फोटो आफ्नो फेसबुक पेजमा पोष्ट गरेका थिए।

नेपालका प्रधानमन्त्री भइसकेका व्यक्तिले होटलमा पुगेर छिमेकी देशका विदेशमन्त्री भेट्नु कुटनीतिक मर्यादा विपरित भएको भन्दै देउवा, भट्टराई र यादवको तीव्र आलोचना भइरहेको छ। जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका थिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई होटलमा भेट्न गरेको निम्तो नेताद्वयले अस्वीकार गरेका थिए।

प्रचण्ड र माधव नेपालले जयशंकरलाई होटलमा गएर भेट्नु प्रोटोकल नमिल्ने र कुटनीतिक मर्यादाविपरित हुने भन्दै निम्तो अस्वीकार गरेका हुन्। नेकपाका अध्यक्ष प्रचण्डले भेट्ने भए आफ्नो निवास खुमलटार आउन जयशंकरलाई सन्देश दिएका थिए।

तर, जयशंकर खुमलटार आएनन् र नेताद्वय पनि विदेशमन्त्री भेट्न होटल पुगेनन्। राप्रपाका अध्यक्ष कमल थापाले देउवा, भट्टराई र यादवले होटलमै पुगेर विदेशमन्त्री भेट्नु लम्पसारवादको नमूना भएको टिप्पणी गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे।

थापाले बिहीबार साँझ भेटप्रति आपत्ति जनाउँदै ट्वीट गरेका थिए। थापाको ट्वीटलाई भट्टराईले शिशाको घरमा बसेर अर्काको झुपडीमा ढुंगा नहान्न प्रतिक्रिया दिएका छन्। भट्टराईले लेखेका छन्, ‘शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नु हुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला। सुगौली सन्धीयताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुला सम्बन्ध राख्ने पक्षमा छौं।’

भट्टराईले थापामाथि बाहिर राष्ट्रवादको हवाला दिएर भित्र दिल्लीको चाकरी गरेको गम्भिर आरोप लगाएका छन्। उनले राष्ट्रवादको डंका जनता ठग्ने हतियार भएकोसमेत आरोप लगाएका छन्।

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्