प्रहरी महानिरीक्षक खनाललाई चिठी- ‘के अब अख्तियार प्रमुखलाई पनि हिरासतमा लिनुहुन्छ ?’


 


राकेशकुमार शर्मा
प्रहरी महानिरीक्षकज्यु,
मर्नुभन्दा पहिले नै शालिकराम पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको कारणले आत्महत्या गरेको बताएका छन् वा भिडियो फेला परेको छ । महानिरीक्षकज्यु कुरा यति मात्र होइन र ? उसाे भए आत्महत्या गर्नेले नाम लिएकै भरमा अहिलेसम्म कतिजनालाई तपाईंहरुले हिरासतमा लिनुभएकाे छ ?

यो केस शालिकराम पुडासैनी को आत्महत्यासँग सरोकार भएको केस हो । मेरो बुझाइमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई फसाउनलाई नै गरिएको यो षड्यन्त्र हो । शालिकराम पुडासैनीले आत्महत्या गरेको हो वा त्याे हत्या हाे भन्ने सर्वत्र अांशका भइरहँदा पनि प्रहरीले किन वेलैमा प्रष्ट पार्न सकेन ? यसमा केही न केही गडबड भएको छ भन्ने मेरो बुझाइ छ ।

प्रहरी महानिरीक्षक ज्यु, तपाईंलाई केही कुराहरू ध्यानाकर्षण गराउन गइरहेको छु । यसभन्दा पहिले पनि रवि लामिछानेको नाम बदनाम गराउने मनसायले उनकी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नभई नै निकिता पौडेलसँग विवाह गरेको भनेर अफवाह फैलाइयो । आखिरमा रवि लामिछानेले निकिता पौडेलसँग विवाह गर्नुभन्दा पहिले नै पहिली श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेका रहेछन् नि । योजनाकारहरु पहिलो योजनामा उनलाई नाम बदनाम गराउनमा असफल भए र माैका छाेपेर बसिरहे ।

रबि लामिछानेलाई यस्तो गर्न किन खोजियो भने प्रस्तोता लामिछानेको सीधा कुरा जनतासँग भन्ने कार्यक्रममा उनी कडाभन्दा कडा शैलीमा प्रस्तुत हुने र भ्रष्टाचारीहरु, माफियाहरु, तस्करहरु र गलत नेताहरूलाई नांगेझार बनाउने किसिमको थियो । यसकारण न्युज २४ को सीधा कुरा जनतासँग भन्ने कार्यक्रम नै रवि लामिछानेविरुद्ध बाेल्ने, उनलाई गिराउन खाेज्नेहरुकाे टाउकाे दुखाइकाे विषय थियाे र माैका छाेपी नै रहे ।

प्रहरी महानिरीक्षक ज्यु, भोलि आउने दिनहरूमा तपाईंको छोरा वा छोरीले म आफ्नो बुवा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कारणले आत्महत्या गरेको हो भन्दै सुसाइड नाेट छाेडेमा तपाईं हत्यारा भइहाल्नुहुन्छ ? मेयर रेणु दाहाललाई उनका छोरा/छोरीहरूले ‘मम्मी, तपाईंले रवि लामिछानेमाथि झुठो आरोप लगाउनुभएको कारण साथीभाईहरुको टर्चर हामीले खेपिरहनु परेकोले तपाईंकै कारणले आत्महत्या गरेको हो भन्दिए भन रेणु दाहाललाई पनि उसैगरी थुन्न मिल्ला ?

महानिरीक्षक ज्यु,
तपाईहरुको काम नै अपराधीहरुलाई थुन्ने हो । कुनै अपराधी वा कुनै कैदी थानाबाट मुक्त हुनेबित्तिकै मलाई एसपी वा डिएसपी वा प्रहरी निरीक्षक वा सई वा असई वा जेलरले मानसिक यातना दिएकोले मैले आत्महत्या गरेको हो भनिदिएमा के ती प्रहरी अधिकारीहरु हत्यारा साबित भइहाल्नुहुन्छ ?

हालै कलंकी मालपाेतका एक पूर्वकर्मचारीले पनि आत्महत्याअघि सुसाइड नाेटमा अख्तियार प्रमुख नवीन घिमिरेकाे नाम लेखेका थिए, के अव उहाँलाई पनि तपाईंहरुले हिरासतमा लिएर अपराधी करार गर्न सक्नुहुन्छ ?

आत्महत्याका दाैरान नाम मुछिएकाहरु सबै हत्यारा आराेपित हुने हो भने महानिरीक्षक ज्यु, भोलिका दिनहरुमा प्रहरीहरुलाई अपराधी पक्राउ गर्न पनि गाह्रो हुनेछ । प्रतिशोधको भावनाले मानिसको आत्महत्या गर्ने विकृति र चाहना पनि बढ्दै जान्छ । यसतर्फ पनि ध्यान दिन र सचेत हुन जरुरी छ ।

प्रहरी महानिरीक्षक ज्यु, प्रहरी संगठनहरुमै पनि रवि लामिछानेका फ्यान वा साथीहरु धेरै छ्न् ।भोलि यही रवि लामिछानेको विषयवस्तुलाई लिएर प्रहरी संगठनभित्रै विद्रोह भयो भने के गर्नु हुन्छ ?

यसकारण मुलुकमा आगो लाग्नुभन्दा पहिले यसप्रकारका केसमा गम्भीर हुनु ठिक हुनेछ जस्तो मलाई लाग्छ । बरु पत्रकार शालिकराम पुडासैनीको हत्या गर्ने वास्तविक हत्याराको पत्ता लगाउने काम गरेमा यसले उनको आत्माले पनि शान्ति पाउनेछ । उनलाई पनि न्याय मिलाेस्, काेही निर्दाेष पनि नफसाेस् !

प्रहरी महानिरीक्षक ज्यु, मैले गलत कुरा लेखेको भएमा क्षमाप्रार्थी छु । बाँकी हजुरको विचार ।

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्