महानिर्देशक सहसचिवसहित ५६ को सरुवा, प्रशासन क्षेत्रमा नयाँ तरंग


 


काठमाडौं। सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ । आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा परेका छन् ।

केन्द्रीय सरकारको महवपूर्ण निकायमा कार्यरत रहेका प्रशासन सेवामा २७, वन, कृषि, इन्जिनियरिङ र कानुनतर्फका सात–सात जना गरी ५६ जनाभन्दा बढी वरिष्ठ सहसचिवको एकैपटक सरुवा भएपछि निजामती क्षेत्रमा तरंग सिर्जना भएको छ । ६ महिनाभित्र सचिव बढुवा हुने लाइनमा रहेका र ६ महिनाभित्रै सेवा निवृत्त हुने अवस्थामा रहेका वरिष्ठ सहसचिवबाहेक अन्य सबैलाई योग्यताक्रमअनुसार नै सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशका मन्त्रालयमा सचिव बनाएर पठाइएका सबै सहसचिवलाई हाल पाइरहेको सेवा–सुविधामा एक जना खरिदारले पाउने तलब बराबरको अतिरिक्त तलब वृद्धि हुने मन्त्रालयले जनाएको छ । उनीहरूलाई एक वर्षका लागि मात्रै सरुवा गरिएको हो । एक वर्षपछि उनीहरू बढुवा भएर केन्द्रीय मन्त्रालयमा सचिवकै रूपमा आउनेछन् ।
पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका मन्त्रालयमा केन्द्रमा रहेका वरिष्ठ सहसचिवलाई पठाउने निर्णय गरेसँगै वरिष्ठ सहसचिवहरू एकैपटक सरुवामा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले एकैपटक वरिष्ठ सहसचिवलाई प्रदेशमा पठाउने निर्णय गरेपछि केही मन्त्रीहरू असन्तुष्ट बनेका छन् । हाल केन्द्रका सहसचिवलाई प्रदेशमा सचिव बनाएर पठाउने प्रावधान रहँदै आएको छ । यसअघि प्रदेशका मन्त्रालयमा केन्द्रका कनिष्ठ सहसचिवलाई सचिव बनाएर पठाउँदा प्रदेश व्यवस्थापनमा विभिन्न समस्या परेको भन्दै सरकारले वरिष्ठलाई पठाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

यी महानिर्देशक परे एकैपटक सरुवामा

भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाललाई गण्डकी प्रदेशको आर्थिक योजना मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । यसैगरी, भूमि व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीलाई प्रदेश ३ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ भने आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपाललाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी, उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहलाई प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

अन्य वरिष्ठ सहसचिव कोको परे सरुवामा ?

सामान्यको अतिरिक्त समूहमा रहेका कृष्णहरि पुष्करलाई प्रदेश २ को आन्तरिक मामिला मन्त्रालयमा, स्वास्थ्य मन्त्रालयका मधुसुदन बुर्लाकोटी प्रदेश ३ को मुख्यमन्त्री कार्यालयमा, वाणिज्य मन्त्रालयका मधु मरासिनी प्रदेश ५ को आर्थिक मामिला मन्त्रालयमा, गृहका वीरेन्द्र यादव कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा, राष्ट्रपति कार्यालयकी लक्ष्मी बस्नेत कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका मुकुन्द निरौला प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा, लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्मा गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा, उपराष्ट्रपति कार्यालयका तेजराज पाण्डे सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा, वित्त आयोगका गोपीकृष्ण खनाल प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका डिल्लीराम शर्मा गण्डकी प्रदेशमा, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका वीरबहादुर राई प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा, युवा तथा खेलकुद मन्त्रालयका गणेशप्रसाद पाण्डे प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा, लोकसेवा आयोगका सहसचिव किशोरजंग कार्की प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, निर्वाचन आयोगका शंकर खरेल प्रदेश ५ को आन्तरिक मामिला मन्त्रालयमा, शिक्षाका टेकनारायण पाण्डेको प्रदेश ५ मा तथा गृहका अर्जुन पोख्रेलको पनि सरुवा गरिएको छ ।

प्राविधिक सेवाका सरुवामा पर्नेहरू

इन्जिनियरिङ सेवाका सुशीलचन्द्र तिवारी ऊर्जा मन्त्रालयबाट प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा, खानेपानी मन्त्रालयका तेजराज भट्टलाई प्रदेश ३ को भौतिक मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी, केन्द्रीय भौतिक पूर्वाधार मन्त्रालयका गोपालप्रसाद सिग्देल प्रदेश २ मा, विज्ञान प्रविधिका राजेन्द्रप्रसाद खनाल गण्डकी प्रदेशमा, ऊर्जाका सरजुकुमार वैद्य प्रदेश ५ मा, उद्योगका रामआधार शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

यसैगरी, वन तर्फ वन तथा वातावरण मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्य कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवका रूपमा सरुवा भएका छन् । राष्ट्रपति चुरे कार्यक्रमका पे्रमनारायण कँडेल प्रदेश २ मा, यमप्रसाद पोख्रेल गण्डकी प्रदेशमा, राधा वाग्ले प्रदेश ५ र सञ्जीवकुमार राई प्रदेश १ को वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, कृषितर्फ प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विमलकुमार निर्मल, प्रदेश २ मा गोविन्दप्रसाद शर्मा, गण्डकी प्रदेशमा राजेन्द्र प्रसाद, प्रदेश ५ मा वंशी शर्मा र कर्णाली प्रदेशमा सूर्यप्रसाद पौडेलको सरुवा भएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्