रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले के भने ?


 


काठमाडौं, भदौ ७

चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानािन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् । हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुप–यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’

उहाँले रवि लामिछानेको लागि यति धेरै समर्थन रहेको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँको पक्षमा ठूलो समर्थन छ । चासो छ । अहिले हामीले कानून संशोधन गरेका छौं । म त कानूनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन् । कानून सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’

उहाँले आफू र रवि लामिछानेबीच निकै लामो मित्रता रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘मित्रताको कारणले म यहाँ आएको होइन । म सत्यको पक्षमा बोलुँ भनेर सधैं कोशिस गर्छु । रवि निर्दोष छ । म यहाँ क्लबमा आउँदै गर्दा सडकमा रविलाई रिहाई गर भनेर अहिलेपनि जाम छ । रविजीले सामान्य मानिसको आवाज उठाईदिनुभयो, त्यसैले आज न्याय पाउनुपर्छ ।’

उहाँदे थप्नुभयो, ‘भोलि नजिर बस्न सक्छ, जिन्दगीबाट हारेको मान्छेले आरोप लगाएर मरिदिन सक्छ । यत्रो प्रेसर दिँदाखेरि त रविजी दश दिन बसिसक्नुभयो । कसैले कसैलाई अन्याय गरेको छ भने रविजीलाई भेट्नुपर्छ भन्ने अवस्था छ । आम मानसिले अहिले चलचित्रमा हामीले देखाउने नायक र नायकत्व रविजीमा पाउनु भएको थियो ।’

गिरीले आत्महत्या भनेको आफैंमा अपराध भएको सुनाउनुभयो । ‘यो केशमा भोलि न्याय हुनेछ । रविजीले भोलि न्याय पाउनुहुन्छ ।’–उहाँले थप्नुभयो । उहाँले कानूनमै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘राज्यले रविजीलाई न्याय दिनेछ । रिहाई भएर जनताको आवाज लिएर फेरि आफ्नो कर्ममा फर्किनुहुन्छ । राज्यले पनि गम्भिर विचार गर्नुपर्छ । जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन ।’

तर, उहाँले भीडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको सुनाउनुभयो । यद्धपी उहाँले हिजो राजाको शासनको पालामा भीडले परिवर्तन ल्याएको कुरा बिर्सन नहुने सम्झाउनुभयो । उहाँले भन्नुभयो, ‘तर, काराणसहितको भीड हुनुपर्छ ।’

अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने सुनाउनुभयो । उहाँले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाउनुभयो । उप्रेतीले भन्नुभयो, ‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उहाँको भनाइ छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याउनुभयो ।

उहाँले अघि थप्नुभयो, ‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् ।कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होइन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राइम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’

अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस । बिना कुनै दबाब काम गर्न दिईयोस् । यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’

उहाँले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गनुर्भयोे । तर, यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, ‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’ यद्धपी उनले हिरासतभन्दा बाहिर राखेरपनि रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँलाई भयंकर अपराधीजस्तै गरेर पक्राउ गरियो । उहाँले त सुरुवातदेखि नै प्रहरी प्रशासनलाई सहयोग गर्छु भन्नुभएको थियो । तर, जे होस अब अन्तिम निर्णय अदालतको हो । रविजी भनेको आवाजविहीनको आवाज हो । उहाँले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’

कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वस दिलाउनुभयो । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो, ‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’

कार्यक्रमको सुरुवातमै ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘रविजी पक्राउ परेपछि, उहाँको बारेमा पहिलोपटक मिडियामा बोल्ने व्यक्ति हुँ । तपाईहरु यो कुरा युट्युवमा पनि हेर्न सक्नुहुन्छ । म रविजीको पक्षमा छु । रिहाईको लागि म आग्रह गर्दछु ।’

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्