रवि लामिछाने पत्नि निकिता पौडेलमाथि पनि छानबिन हुने


 


काठमाडौं । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नि निकिता पौडेलमाथि पनि छानबिन गर्ने भएको छ । केही दिनअघि पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरण छानबिनका क्रममा चितवन प्रहरीको हिरासतमा रहेका रविलाई खाना खुवाउन भनेर गएका बेला रविको ‘भ्वाइस रेकर्ड’ गरेर सार्वजनिक गरेको आरोपमा उनीमाथि छानबिन हुने भएको बताइएको छ ।

सार्वजनिक भएको अडियो रेकर्डमा रविले चितवनका एसपी दानबहादुर मल्लले पूर्वाग्रही भएर छानबिन गरेको आरोप लगाएका छन् । रविले मृतक पत्रकार पुडासैनीका परिवारलाई मल्लले बोलाएर आफूविरुद्ध हिटानी जाहेरी दिन लगाएको पनि उल्लेख गरेका छन् । रविको उक्त अडियो युट्युमा छ । प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिने क्रममा बाहेक सार्वजनिक रुपमा आफूमाथि लागेको अभियोगबारे बोल्न मिल्दैन । तर, गैरकानूनी रुपमा प्रतिबन्धित काम गरेको भन्दै प्रहरीले निकितामाथि अनुसन्धान गर्ने भएको स्रोतले बताएको छ ।

निकिताले खाना खुवाउने क्रममा रविको अडियो रेकर्ड गरेर बाहिर दिएको पुष्टि भएको प्रहरीले जनाएको छ । अनुसन्धान प्रभावित पार्ने नियतले प्रतिबन्धित काम गरेको अभियोगमा छानबिन हुने बताईन्छ । निकिता पौडेल केही दिनअघि शालीकराम पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियो सार्वजनिक गरेको आरोपमा चितवनका एसपी मल्ल र जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठविरुद्ध साइबर क्राइम मुद्दा दर्ता गर्न प्रहरीमा गएकी थिइन् । तर, प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो ।

२० साउनमा नारायणगढस्थित एक होटलमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीको मोबाइलमा रहेको भिडियोमा आफू रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोही भिडियोका आधारमा मुलुकुी अपराध संहिताअन्तर्गत कारबाहीका लागि उनीहरु तीनैजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी चितवन लगेको हो ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्