किरात राई कविहरुले सुनाए मातृभाषामा कविता


 


DSC00682काठमाडौं, असार २१

प्राज्ञ श्रवण मुकारुङले ‘भाषाको जन्म हुनुभन्दा पहिला नै कविता जन्मिएको’ बताउँदै ‘कविताले भाषालाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने’ ठोकुवा गरे । नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागसँगको सहकार्यमा नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रले हालै राजधानीमा आयोजना गरेको ‘किरात राई मातृभाषा कवि गोष्ठी एवं भाषिक विमर्श’ कार्यक्रममा मुकारुङले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका प्राज्ञिक विभाग प्रमुख एवं मातृभाषाविज्ञ डा. तारामणि राईले मातृभाषाको महत्वबारे विस्तृत रुपमा प्रकाश पारेका थिए । अर्का वक्ता किरात राई मातृभाषा संरक्षण अभियानकर्ता तथा साहित्यकार नवराज राई ‘वर्तमान’ले मातृभाषा साहित्यका बारेमा बोलेका थिए भने गीतकार टीका चाम्लिङले संस्थाका गतिविधिमाथि प्रकाश पारेका थिए ।

केन्द्रका अध्यक्ष डा. भक्त राईले किरात राई समुदायका युवापुस्तामा आफ्नो मातृभाषा र साहित्यप्रति अभिरुचि जगाउने उद्देश्यले यस प्रकारको कार्यक्रमको आयोजना बताए । उनले भने, ‘केन्द्रले आदिवासी, जनजातिका भाषा, साहित्य, दर्शन, इतिहास र संस्कृति सम्बन्धी अध्ययन–अनुसान्धान लगायतका कार्यहरु गर्दै आएको छ, यो त्यसैको एक शृङ्खला हो ।’

कार्यक्रममा वाचित किरात राई मातृभाषाका कविताहरु मध्येबाट नवीन प्यासी वाम्बुले राई प्रथम, जीवनजीत चाम्लिङ राई द्वितीय, मीना साम्पाङ राई तृतीय भए भने उदिम थुलुङ किराती र श्रीकुमार पुमा राईले सान्त्वना पुरस्कार प्राप्त गरे । कविताको निर्णायकमा प्राज्ञ शशी लुमुम्बू, मुन्दुमविज्ञ भोगिराज चाम्लिङ र कवि चन्द्र रानाहँछा रहेका थिए । कार्यक्रमका अतिथिहरुलाई ‘किरात राई फेटा’ लगाइदिएर ‘शिर–सम्मान’ गरिएको थियो ।

प्रकाशित मिति: २१ असार २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्