“सुशासन कायम गर्नका लागि सरकारले कठोर कदम चाल्न बाध्य”


 


मोरङ, भदौँ १३

मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन कायम गर्नका लागि सरकारले कठोर कदम चाल्न बाध्य भएको बताउनुभएको छ । प्रदेशसभाको सुशासन तथा योजना समितिले आज आयोजना गरेको सुशासन तथा योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘देश र प्रदेशलाई इमान, नैतिक मूल्य, प्रतिबद्धता र इच्छाशक्ति भएका व्यक्तिको खाँचो छ,’ उहाँले भन्नुभयो, ‘यी खाँचो पूरा गर्न सके मात्रै शान्ति र सुशासन कायम गर्न सकिन्छ ।’ अहिले पनि पूरानै प्रवृतिमा चल्ने शैली कायम रहेकोले अनियमितता र भ्रष्टाचारी कायमै रहेको राईको भनाई थियो । ‘

अब यो पूरानो शैली त्यागेर युग सुहाउँदो योग्यता, कर्मठता र व्यवहार सबैलाई देखाउनु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘योजना छनौट र कार्यान्वयनमा पनि पुरानै परम्परामा ल्याइरहेका छौं जसले अनियमितता र भ्रष्टाचार कायम रहेकोले अब नयाँपनको खाँचो छ ।’ उहाँले नागरिकको सहभागितामूलक रुपमा योजना नल्याउने परम्पराले कसरी सुशासन कायम हुन्छ भन्दै प्रश्न गर्नुभयो । ‘सुशासन कायम गर्न मानसिकता, कार्यशैलीलगायतमा चुनौती छ,’ राईले भन्नुभयो, ‘सुशासन कायम गर्न प्रदेश सरकार एक इञ्च पनि तलमाथि हुँदैन, हामी कठोर भन्दा कठोर भएर सुशासन कायम गर्न लागि परेका छौं ।’

प्रदेशमा सुशासन कायम गर्न आवश्यक सबैखाले कदम चाल्ने तयारी गरिसकेको उहाँको भनाई थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशवासीलाई परिवर्तनको प्रत्याभूति गराउने गरी विकास, निर्माणलगायतको कामलाई तीव्रता दिनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले त्यसमा सुशासन, जवाफदेहिता र उत्तरदायित्वसमेत कायम गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्