नेपाली कांग्रेस : ओली नेतृत्वको सरकारले जनतामा निराशा पैदा गरायाे


 


काठमांडौ १९ भदौ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा निराशा पैदा गराएको बताएको छ। दुई महिनासम्म चलेर सकिएको केन्द्रीय समिति बैठकमा पेश गरिएको समसामयिक राजनीतिक प्रस्तावमा कांग्रेसले दुई तिहाइ समर्थनप्राप्त ओली सरकारका काम देखेर जनता निराश भएको उल्लेख गरेको छ।

सहमहामन्त्री प्रकाशशरण महतले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, राज्य संरचनाहरूको दुरूपयोग र राजनीतिकरण, महँगी, हत्याहिंसा, बलात्कार, असुरक्षा र अशान्तिले गर्दा जनता निराश भएको उल्लेख गरे।

‘भ्रष्टाचार, राज्य संरचनाहरूको दुरूपयोग र राजनीतिकरण, महँगी, हत्याहिंसा, बलात्कार, असुरक्षा र अशान्ति सामान्यजस्तो भएको छ,’ उनले भने, ‘सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको छ जसबाट जनता निराश छन्।’ सरकारमा बसेकाहरूको सेवा र सर्तमा ध्यान दिँदा आन्तरिक र बाह्य लगानी निरूत्साहित भएको आरोप पनि कांग्रेसले लगाएको छ।

‘देशमा रोजगारीको सिर्जना भएको छैन। अन्तर्राष्ट्रिय लगानी घटेको छ,’ उनले भने, ‘समृद्धिका कुरा नारामा सीमित भएका छन्।’

सरकारले संविधानको मर्म उल्लंघन गरेको कांग्रेसको आरोप छ।

‘कम्युनिष्ट सरकार माफिया र कमभन्दा कम समयमा सम्पत्ति आर्जन गर्न झुण्डको वरिपरि सीमित भएको छ,’ महतले भने, ‘सरकारमा एकदलीय मानसिकता र चरम शक्तिको केन्द्रीकरण छ।’

सरकारको निराशाजनक काम देखेर जनताले कांग्रेसको सशक्त भूमिका खोजेको उनले बताए।

सरकारको जनविरोधी क्रियाकलापविरूद्ध भदौ २४ देखि देशैभर राष्ट्रिय जागरण अभियानका क्रममा जनतामाझ गएर भण्डाफोर गर्ने कांग्रेसको तयारी छ।

आफ्ना असफलता र कमजोरी छोप्न सरकार संवैधानिक व्यवस्थाविरूद्ध खतरा छ भन्दै हिँडेको कांग्रेसको आरोप छ।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्