असोज १३ गते नेपाल खुला दिसा मुक्त राष्ट्र घोषणा हुँदै


 


सिन्धुपाल्चोक, भदौ २०

। प्रदेश ३ अन्तर्गतको सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।  जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा रहेका ८८ हजार २ सय ७३ घरधुरीहरु सबैमा शौचालयहरु निर्माण भई प्रयोगमा आएपछि सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्लामा ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ वटा स्थानीय पालिकाहरु छन् । सिन्धुपाल्चोक खुला दिसामुक्त घोषणा भएका जिल्लाहरु मध्ये ६८ औं स्थानमा परेको छ ।

खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले अब नेपाललाई नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिनुभयो । उहाँले असोज १३ गते नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने तयारी भैरहेको बताउनुभयो ।

“नेपाल दक्षिण एसियामै पहिलाे खुल्ला दिसामुक्त देश हुँदैछ। दक्षिण एसियाका अरु देशहरु पनि याे अभियानकाे क्रममा छन, उहाँले भन्नुभयो ”
“भारत लगायत अरु देशहरु पनि खुल्ला दिसामुक्त अभियान छन्। तर, नेपालकाे अभियान अरु देशकाे भन्दा पृथक छ। अरु देशमा याे अभियान सरकार र केही प्रतिनिधि सामेल भएर गरेका छन्। तर, नेपालमा सिङ्गाे देश र सम्पूर्ण नागरिक नै याे अभियानमा सामेल छन्।”

उहाँले भन्नुभयो, ” खुला दिसा मुक्त घोषणा अभियान एक सामाजिक अभियान हो । यो अभियानलाई हामी महाअभियानको रूपमा अघि बढाउदै पूर्ण सरसफाइको अभियानमा गुरुयाेजना बनाएर काम गर्दैछौं।”

मेलम्ची आयोजनाको सम्बन्धमा मन्त्री मगरले स्थानीय श्रमिक मजदुरहरुको माग सरकारले छिट्टै समाधान गर्ने  बताउनुभयो । “हामी नेपाली कामदार, स्थानीय भेन्डर र अन्य सराेकारवालाका मागप्रति गम्भीर छौं। तर, कानूनभन्दा बाहिर गएर हामी निर्णय गर्न नसक्ने परिस्थितिमा छौं, उहाँले भन्नुभयो, “वैधानिक बाटाे खाेजेर समस्या समाधान गर्न हामी निरन्तर लागिरहेका छौं।”

प्रतिनिधि सभाका साँसद एवं पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोक जिल्लालाई खुला दिसा मुक्त जस्तै खानेपानी समस्या मुक्त जिल्ला बनाउनुपर्ने माग गर्नुभयो ।

सिन्धुपाल्चोक जिल्लामा पर्ने चौतारा साँगाचोक गढी नगरपालिकामा १४ हजार १ घरधुरी, बाह्रबिसे नगरपालिकामा ७ हजार ९ सय ९६, मेलम्ची नगरपालिकामा १३ हजार ४ सय २१ घरधुरी, बलेफी गाउँपालिकामा ६ हजार ५४, पाँचपोखरी गाउँपालिकामा ७ हजार ३ सय ५९, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ हजार ३ सय ७६, इन्द्रावती गाउँपालिकामा ८ हजार ९, लिसंखुपाखर गाउँपालिकामा ५ हजार ३ सय ७६, भोटेकोशी गाउँपालिकामा ४ हजार २ सय २६, सुनकोशी गाउँपालिकामा ५ हजार ७ सय ४९, जुगल गाउँपालिकामा ५ हजार ६ सय ६६ र हेलम्बु गाउँपालिकामा ५ हजार ४ सय २२ घरधुरीहरु रहेको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमान सिंह तामाङले सिन्धुपाल्चोकलाई आर्थिक समृद्धिको जिल्लाको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, भोजपुर, काठमाडौँ र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको छ ।

सरकारले २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रम अन्तर्गत वि.सं २०६८ असार १० गते कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्