चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने भन्दै प्रचण्डले चिनियाँसँग गरे यस्तो आह्वान


 


काठमाडौं, भदौ २१

नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ वर्तमान सरकार लागेको बताएका छन्।

बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताए।

एक चीन नीतिप्रतिको नेपालको स्थापित अडान दोहोर्याउँदै उनले चीनविरुद्ध नेपाली भूमि कदापि प्रयोग हुन नदिने दृढता व्यक्त गरे। अध्यक्ष प्रचण्डले भने, “नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौ।” नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै उनले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गरे।

अध्यक्ष प्रचण्डले रोजगारीका अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको बताए।

नेपालले मात्र नभइ विश्वले नै चीनतर्फ लगानीका निम्ति हेरिरहेका तथा उसले गरेको विष्मयकारी विकासबाट अधिकाधिक लाभ लिन खोजेका बताउँदै उनले नेपालको निकटको छिमेकी चीन भरपर्दो विकासको साझेदार हो भने ।

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्