मानव बेचबिखन तथा ओसारपसार धन्दाका रूपहरू फेरिँदै, चुनाैती अझै थपिदै


 


काठमाडौं, २१ भदौ ।
पछिल्लो समयमा मुलुकमा मानव बेचबिखन तथा ओसारपसारको जालोले गम्भीर चुनौती सिर्जना गरेको पाइएको छ ।

ओसारपसारको धन्दाका रूपहरू फेरिँदै जान थालेपछि यसले ठूलो चुनौती थपिदिएको हो । यस्ता गतिविधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोहको सक्रियता र निसानामा शिक्षित तथा प्रविधिमा पहुँच राख्ने युवा पुस्ता नै पर्न थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पछिल्लो समय वैदेशिक रोजगारी, ग्रिन कार्ड, पीआरको प्रलोभनमा परेर राम्रो जीवनशैली र आर्थिक उर्पाजनको बाटो खोजिरहेका शिक्षित वर्गका युवायुवती नै तस्करीको निसानामा पर्ने गरेका छन् ।

ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार यस्ता गतिविधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट संगठित अपराधीहरूको संलग्नता रहने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसमेत मुख्य चुनौती बनेको उनको भनाइ छ ।

‘हामीले ब्युरो गठन गरेको चार महिनाको अवधिमा भारत, लिबिया, इराक, ग्रिस, केन्या, इन्डोनेसियालगाायतका देशबाट २६० जनाको उद्धार गरिसकेका छौं ।’ संगठित गिरोहले विभिन्न प्रलोभन तथा बहनामा उनीहरूलाई विभिन्न देशमा पुर्याएको एसपी थपलियाले बताए ।

ब्युरोले केही समयअघि मात्र विवाह गरेर नेपाली युवती तस्करी गर्ने चिनियाँ गिरोहको धन्दा पर्दाफास गरेको थियो ।

परम्परागत रूपमा कमाराकमारी, बधुवा मजदुरका रूपमा श्रम शोषण तथा दासका रूपमा यस्ता गतिविधि हुने भए पनि पछिल्लो समय आधुनिक दासताका रूपमा मानव बेचबिखन तथा ओसारपसार बढेको सरोकारवालाहरूको भनाइ छ ।

उनीहरूका अनुसार पछिल्लो समय तस्करहरूले वैदेशिक रोजगारी, शिक्षा, विवाह, स्वास्थ्य तथा मनोरञ्जनलगायतका गतिविधिमार्फत मानव तस्करीका धन्दा सञ्चालन गर्ने गरेका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार विगतमा भारतका कोठीमा लगेर चेलिबेटीे बेचबिखन गर्ने कामलाई मात्रै मानव बेचबिखनका रूपमा लिइने गरिन्थ्यो ।

प्रकाशित मिति: २१ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्