चिनियाँ विदेशमन्त्रीलाई स्वागत गर्न को-को पुगे विमानस्थल ? (हेर्नुस् फोटो फिचर)


 


काठमाडौं, २२ भदाै

चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गरे।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको तयारीका सिलसिलामा उनी नेपाल भ्रमणमा आएका हुन्। चार वर्षपछि चिनियाँ विदेशमन्त्रीबाट नेपाल भ्रमण भएको हो।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने भने सोही दिन उनको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्।

प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुनाका साथै त्यसमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन समीक्षा हुनेछ। पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने वार्तामा दुई देशबीच भएका सन्धिसम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको पुनरावलोकन तथा तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताइएको छ।

प्रकाशित मिति: २२ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्