संसदमा मुख्यमन्त्री राईको सम्बोधनः भ्रष्टाचारीलाई घण्टाभरमै कारवाही, काम नगरी कमिसन खाएर बजेट सक्नेलाई छोड्दिन


 


विराटनगर, भदौ २२

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो नेतृत्वको सरकारले सुशासन कायम गराउन र भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशिलता अपनाएका बताएका छन् । आइतबारको प्रदेशसभा सदनमा विशेष सम्बोधन गर्दै उनले भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्दै सुशासन कायम गर्न सांसद, मन्त्री र कर्मचारीलाई जिम्मेवार हुन आग्रह गरे ।

भ्रष्टाचारीलाई घण्टाभरमै कारवाही गर्न आफ्नो हटलाइन नम्बर सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री राईले पारदर्शी नभएको भन्ने गुनासो आएपछि प्रदेश सरकार मातहतको कृषि, भूमि तथा सहकारी मन्त्रालयले आह्वान गरेको टेण्डर र सूचनाहरु रद्द गर्न निर्देशन दिएको प्रदेशसभामा जानकारी गराए ।

उनले प्रदेश सरकार सफल भए मात्र सङ्घीयता सफल हुने भएकाले सबै प्रदेश सदस्यलाई जिम्मेवार हुन आग्रह पनि गरे । मुख्यमन्त्री राईले बजेट पास गरेर महिनौ सुत्ने र अन्त्यमा हतार हतार बजेट सक्ने, कमिशन खाने र काम अलपत्र छाड्ने केन्द्रीय मानसिकता प्रदेशमा अन्त्य भएको भन्दै आगामी १ जेठभित्रै सबै बजेट कार्यान्वनय भइसक्ने दाबी गरे।

सहकारी विधेयक

यस्तै, प्रदेशसभाले ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ बमोजिम सो विधेयक पारित गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रस्ताव सदनमा पेश गरेका थिए ।

यो विधेयक पारित भएपछि प्रदेशमा उत्पादन, सेवा, वित्तीय, श्रमिक र बहुउद्देश्य किसिमका सहकारी सञ्चालनमा आउने भएको छ । सहकारी विधेयक प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन दर्ता भएर सैद्धान्तिक छलफल भएको थियो । उक्त विधेयक संशोधनका लागि सत्तापक्षका १० सदस्यले संशोधन दर्ता गराएका थिए ।

प्रकाशित मिति: २२ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्