नेपालका हिमालको मनोरम दृश्य र पृथ्वीनारायण शाहको शालिक हेर्न चन्द्रागिरी पुगे चिनियाँ विदेशमन्त्री


 


काठमाडौं, भदौ २३

तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुगेका छन्। काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुगेका छन्।

चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।

चन्द्रागिरीबाट विदेशमन्त्री यीले नेपालका हिमालको मनोरम दृश्य र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक र भालेश्वर मन्दिरको अवलोकन गरेका थिए। चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ ।

चन्द्रागिरि हिल्स नेपाल भ्रमणमा आउने विदेशी उच्चपदस्थ अधिकारीहरुका साथै विदेशी तथा स्वदेशी पर्यटकहरुको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने गरेको छ । विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको आमन्त्रणमा द्विपक्षीय वार्तामा भाग लिन आइतबार साँझ काठमाडौं आएका हुन् ।

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्