परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच तीन समझदारी पत्रमा हस्ताक्षर


 


काठमाडौँ, २४ भदौ
नेपाल र चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार सम्झौता अदानप्रदान भएको हो ।

सम्झौता अनुसार हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लागतमा अस्पताल निर्माण हुने भएको छ ।

त्यसैगरी, गृह मन्त्रालयलाई आपत्तिकालिन सेवाका लागि ५ हजार टेन्ट उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ । यसको लागत एक करोड ७० लाख रुपैयाँ रहेको छ ।

चीनका स्टेट काउन्सिलर वाङ यीले बाढी पीडितका लागि १ करोड ६० लाख रुपैयाँको सहयोगको पनि घोषणा गरेका छन् । यी सहयोगहरु बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको क्रममा चीनले घोषणा गरेको १७ अर्ब रुपैयाँको सहयोग अन्तर्गतका हुन् ।

दुवै देशका परराष्ट्रमन्त्रीबीच होटल याक एन्ड यतिमा द्वीपक्षीय वार्ता भएको हो । दुवै देशबीच स्वयंसेवी चिनियाँ भाषा शिक्षकहरुले नेपाली विद्यालयमा चिनियाँ भाषा अध्यापन गराउने विषयमा समेत छलफल भएको छ ।

२०७१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच भाषा शिक्षकको विषयमा सहमति भएको थियो । जसलाई गत वर्ष दोस्रो पटक प्रधानमन्त्री भएपछि भएको चीन भ्रमणको क्रममा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्