विवादास्पद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पायाे मेलम्ची खानेपानीकाे डेढ अर्बकाे ठेक्का


 


काठमांडाै २५ भदाै
विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएको छ। शैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का परेको हो।

एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा अनामनगरस्थित आयोजना निर्देशनालय कार्यालयले शैलुङ कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको हो।

सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारी मिलनकुमार शाक्यले बताए।
बिना मगर खानेपानी मन्त्री भएकै बखत उनका ससुरा नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएका हुन्। मन्त्री मगर आफैं पनि अहिले खुमलटारस्थित सोही घरमा बस्छिन्।

३० महिनाभित्र काम सक्ने गरी शैलुङसँग चार महिनाअघि निर्देशनालयले सम्झौता गरेको छ।

शाक्यका अनुसार शैलुङले पाइपलाइन विस्तारको काम अघि बढाइसकेको छ।

‘ठेक्का सम्झौता भएर निर्माण हुन चाहिने सामग्री आयात भइरहेको छ, ती सामग्रीको गुणस्तर पनि परीक्षण भइरहेको छ,’ शाक्यले भने।

शैलुङले बुढानिलकण्ठको आरुबारीमा ओभरहेड ट्यांकी बनाउने छ र त्यस क्षेत्रमा पर्ने कपन तथा बुढानिलकण्ठ क्षेत्रको पाइपलाइन विस्तार गर्नेछ।

गृह मन्त्रालयका अनुसार शैलुङ निर्माण क्षेत्रमा ‘बदमासी’ गर्ने ‘क’ वर्गको ठेकेदार कम्पनी हो। गृहमन्त्री रामबहादुर थापाले गत वर्ष ‘बदमासी’ गर्ने निर्माण कम्पनीको नाम सार्वजनिक गर्दा अधिकारीको शैलुङ पनि थियो।

कानुनतस् प्रतिस्पर्धामा कम कबोल गर्ने कम्पनीसँग ठेक्का सम्झौता गर्ने व्यवस्था भए पनि पछिल्लो समय सरकार काम बिगार्ने ठेकेदार कम्पनीसँग कठोर प्रस्तुत भइरहेको छ।

दुई अर्ब आठ करोडको राष्ट्र बैंक केन्द्रीय कार्यालयको ठेक्का विवादास्पद पप्पु कम्पनीले पाउने भएपछि सरकारले हस्तक्षेप गरेर रोकेको थियो। पप्पुले देशैभरि पुल निर्माणको काम बिगारेको आरोप छ। बर्दियाको जबदीघाटस्थित बबई नदीको पुल भासिएपछि पप्पुलाई भ्रष्टाचार मुद्दा लागेको थियो।

शैलुङ पनि यस्तै विवादित कम्पनी हो, जसले ठेक्काका धेरै काम पूरा गरेको छैन।निर्माण क्षेत्रमा समयमा काम नगर्ने सरकारी सूचीमा शैलुङ छ। सरकारले चाहे पप्पुलाई जस्तै ठेक्का खोसेर वा कालोसूचीमा राखेर शैलुङलाई कारबाही गर्न सक्छ। तर, अधिकारीसँग नेकपा अध्यक्ष दाहाल नै जोडिएपछि राज्य निकायहरू शैलुङसँग डराउँछन्। काठमाडौं उपत्यका सडक सुधार योजना कार्यालयका अनुसार शैलुङले लामो समयपछि त्रिपुरेश्वर, कलंकी, नागढुंगा ९.१ किलोमिटर सडक ठेक्का पूरा गर्ने चरणमा छ। एक वर्षे सम्झौताअनुसार २०७२ असार मसान्तमा शैलुङले ठेक्का पाएकोमा तीन वर्ष ढिलो गरी काम सकिन लागेको हो।

२०६९र७० मा सम्झौता भएको भक्तपुर, नगरकोट साढे १५ किलोमिटर कालोपत्रे सडक शैलुङ र भारतीय ठेकेदार कम्पनी अरभाली इन्फ्रापावर समेतले हालसम्म पूरा गरेका छैनन्। यो सडक ०७२र७३ भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो। भूकम्प, नाकाबन्दीको समस्या देखाएर ठेकेदारले २०७४ मंसिरसम्म म्याद बढाउन लगाए।

मंसिर बित्यो, सडक ज्यूँकात्यूँ। जेठ मसान्तसम्म फेरि अर्को म्याद थप्दा पनि काम नसकेपछि शैलुङ र भारतीय दुबै कम्पनीलाई २१० दिनको अल्टिमेटम दिइएको छ। यो मितिमा यिनीहरूले दैनिक १ लाख ४५ हजार रुपैयाँ हाराहारी पेनाल्टी तिरेर काम गरिरहेका छन्।

सम्झौता उल्लंघन गर्ने कम्पनीलाई दुई सय दिनको समयावधिमा काम सक्न निर्देशन दिई सम्झौताको १० प्रतिशत हर्जाना तिराउने नियम छ।

उक्त समयसीमा पनि गुजारे पेश्की रकम तान्ने, सम्झौता रद्ध गर्ने, बैंकबाट पैसा फिर्ता लिने र कालुसूचीमा राख्ने नियम छ।

भक्तपुर, नगरकोट, सिपाघाट, बल्खु, दक्षिणकाली सडक योजनाका अनुसार अन्तिम विकल्पका रूपमा पेनाल्टी तिराएर काम लगाउन थालिएको हो।

‘अहिले ४७ प्रतिशत काम सकिएको छ, २१० दिनसम्म यसरी नै काम लगाउने हो,’ कार्यालय स्रोतले भन्यो, ‘त्यो मितिमा पनि नसकिए कानुन अनुसार कारबाही गर्छौं।’

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक भक्तपुर, नगरकोट, सिपाघाट सडकको प्रगति ६० प्रतिशत छ। २७ करोड ९० लाख १९ हजार ६६३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त सडक अलिअलि बन्ने र भत्किने गरिरहेकै छ।

सुख्खामा धूलो र वर्षातमा हिलो बेस्सरी हुने भएकाले हिँडडुल गर्नै समस्या छ। केही समयअघि व्यवस्थापिका संसदको विकास तथा प्रविधि समिति अनुगमनमा गएको थियो। अनुगमनमा गएको समितिले सडकको अवस्था नाजुक रहेकाले समयमै निर्माण गर्न निर्देशन दिएको थियो।

साढे ३ मिटरको सडकलाई बढाएर ७ मिटर कालोपत्रे गर्ने, नाली र ढलको व्यवस्थापन गर्ने र मुख्य घुम्तीमा ११ मिटरसम्मको फराकिलो सडक बनाउने योजनासहित सडक विस्तार अरभाली इन्फ्रापावर लिमिडेट भारत र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा।लि।ले लिएका थिए।

बालाजु, रानीपौवा, त्रिशुली सडक पनि अरभाली र शैलुङले लिएका थिए। सडक पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। २७ करोड ४७ लाख ४७ हजार ७०८ रुपैयाँमा ५६ किलोमिटर सडक निर्माण सम्झौता भएको उक्त सडक ठेकेदार कम्पनीको लापरबाहीले लथालिंग भएको हो।

आर्थिक वर्ष २०७३र७४ मा सम्झौता भएको ढोलाहिटी, सुनाकोठी, चापागाउँको ३.२ किलोमिटर सडक पनि शैलुङले अलपत्र पारेको छ। सोही आर्थिक वर्षमा सक्नुपर्ने भए पनि अहिलेसम्म सम्पन्न भएको छैन।

यी ठूला सडकसँगै काठमाडौं उपत्यकाभित्र शैलुङले अन्य सडक गरी ९ सडक र तीन पुल ठेक्का लिएको छ। चाबहिल, जोरी, साँखु, जोरपाटी, सुन्दरीजल, ललितपुरमा ५ वटा, भक्तपुर १ वटा सडक शैलुङसँग सम्झौता भएका छन्।

काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार अहिले तीव्र भइरहँदा खराब पृष्ठभूमिको ठेकेदार कम्पनी छनोट हुँदा समयमा काम नहुनेतर्फ स्थानीय सशंकित छन्। उक्त क्षेत्रका सांसद गगन थापा केहीअघि अधिकारीको कम्पनीले काम नगरेको भन्दै सडक विभागमै धर्ना बसेका थिए।

मेलम्चीको ठेक्का पाउँदा शैलुङले सिआइपिइल कम्पनीलाई ज्वाइन्ट भेञ्चर राखेको छ। आफ्नो निर्माण कम्पनीको स्रोतसाधन क्षमता कमजोर हुनेले ज्वाइन्ट भेञ्चरमा ठेक्का लिने गरेका छन्। शैलुङले हालसम्म लिएका सबै ठेक्कामा ज्वाइन्ट भेञ्चर कम्पनी छन्।

निर्देशनालयका अनुसार राजधानीमा ९ वटा पोखरी निर्माण भइसकेका छन्। पोखरी बनेका बालाजु, हेपाली, बाँसबारी, कीर्तिपुर, खुमलटार, महांकाल,ठिगनीठिमीलगायत ठाउँमा पाइपलाइन विस्तारको काम भइरहेको छ। निर्देशनालयका अनुसार रिङरोडभित्रको ८५ प्रतिशत पाइपलाइन विस्तार सकिएको छ।

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्