शुन्य लागतमा मलेसियाका लागि रोजगारीकाे बाटाे खुल्याे


 


काठमाण्डौ २६ भदाे
नेपाल र मलेसियाका प्राविधिक टोलीको बैठकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएसँगै मलेसियाको रोजगारीको ढोका खुलेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण भने पुरानै ३६ वटा स्वास्थ्य संस्थाले गर्ने भएका छन् ।
सरकारले सूचीकृत गरेका १ सय २२ मध्ये तत्काललाई ३६ स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि मान्यता दिने र बाँकी स्वास्थ्य संस्थाको अनुगमन पनि मलेसियाले छिटै गर्ने सहमति भएको नेपाली टोलीको नेतृत्वकर्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

मलेसियाले अनुगमन गरेपछि बिस्तारै स्वास्थ्य संस्था पनि थप्दै लैजाने सहमति भएको उनले बताउनुभयो । स्वास्थ्य संस्थाको अनुगमन गर्न आउँदो नोभेम्बरको पहिलो हप्ता मलेसियाबाट टोली नेपाल आउने छ ।

‘मलेसियाको स्वास्थ्य परीक्षणको आफ्नै मापदण्ड छ, त्योअनुसार अहिलेलाई पुरानै ३६ संस्थालाई दिउँ र पछि हामीले अनुगमन गरेपछि त्यसमा पास हुनेलाई थप्दै लैजाने भन्ने सहमति भएको छ,’ सहसचिव घिमिरेले भने ।

यस्तै सेक्युरिटी गार्डका सन्दर्भमा नेपालले छुट्टै ‘जी टू जी’ गर्ने प्रस्ताव राखे पनि मलेसियाले गएको कात्तिकमा भएको समझदारी अनुसार नै ल्याउन सकिने बताएको र समझदारी अनुसार नै पठाइने पनि उहाँले जानकारी दिए ।

प्रविधिक कमिटीको छलफलमा घरेलु कामदारका विषयमा पनि छलफल भएको तर अहिले नै पठाउने विषयमा भने सहमति नभएको घिमिरेले बताए ।

‘घरेलु कामदारका लागि छुट्टै कानुन भएको देशमा मात्र नेपालले घरेलु कामदार पठाउने भएकाले हामीले यही कुरा सोध्दा मलेसियाका प्रतिनिधिले बनाउँदैछौं भने,’ घिमिरेले भने, ‘अब उहाँहरुको कानुन बनेपछि फेरि छलफल गरेर सहमति गर्ने कुरा भएको छ ।’

नेपाल र मलेसियाबीच भएको समझदारी आजैदेखि कार्यान्यनमा आएको छ । कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर पनि जान पाउनेछन् भने म्यानपावर व्यवसायीले पनि कामदार पठाउनका लागि मलेसियामा कामदारको माग खोज्न सक्नेछन् । म्यानपावर व्यवसायीले माग ल्याएमा नेपाली नियोगले अब प्रमाणीकरणको काम गर्नेछ ।

यो सहमतिपछि नेपाली कामदारहरुले शून्य लागतमा मलेसिया जान पाउनेछन् । यस्तै कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी र आउँदाजाँदा लाग्ने टिकटको खर्च सबै रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ । मलेसिया जाँदा नेपालमा मेडिकल परिक्षण गरेको खर्च पनि त्यहाँ काम गर्न थालेको एक महिनाभित्रै कम्पनिले फिर्ता गर्नुपर्ने हुन्छ ।

यो बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्योल अन्त्य गर्ने श्रममन्त्री गोकर्ण विष्टले यसअघि नै बताइसकेका थिए । दुई देशबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसियाको रोजगारी खुल्न सकेको थिएन । अब त्यही सहमतिअनुसार नेपाली कामदारहरु मलेसिया जान पाउने भएका छन् ।

मलेसिया जाने कामदार स्वास्थ्य परीक्षणको नाममा ठगीमा परेको भन्दै गएको वर्षको जेठ २ गतेदेखि मलेसिया बन्द थियो । बन्द रहेको रोजगारीको ढोका खोल्न नेपाल र मलेसियाबीच गएको वर्षको कार्तिकमा श्रम समझदारी भएको थियो । श्रम मन्त्री गोकर्ण विष्टको विशेष पहल र अडानको कारण मलेसियासँग शून्य लागतमै कामदार जान पाउने गरी श्रम समझदारी कार्यान्वयनको प्रक्रिया सुरु भएको हो ।

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्