३४ विपन्न परिवारलाई घर हस्तान्तरण



काठमांडाै २६ भदाै
विर्तामोड नगरपालिका–७ मुन्सी टोलका ३४ विपन्न परिवारलाई आज घर हस्तान्तरण गरिएको छ । विर्तामोड नगरपालिका, सहारा नेपाल सहकारी संस्था र ह्याविट्याड फर ह्युमानेटीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएका घर हस्तान्तरण गरिएको हो ।

मुन्सी टोलमा बनाइएका घर प्रदेश नं १ का प्रदेशसभा सदस्य एकराज कार्कीले हस्तान्तरण गरे । विपन्न आवास कार्यक्रमका लागि सहारा नेपाल सहकारी संस्थाले ह्याविट्याडको आर्थिक सहयोगमा विर्तामोड नगरपालिकासँग सहकार्य गरेको थियो । सोहीअनुसार नगरको ७ नम्बर वडामा घर निर्माण गरिएको नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनले भने, “नगरपालिकाभित्र बस्ने कुनै पनि परिवार घरवारविहीन नहुन् भन्दै नगरका विभिन्न वडामा घर विपन्न आवास कार्यक्रम सञ्चालन गरिएको हो ।”

नगरपालिकामा मात्रै ७६ वटा घर निर्माण गरिएको छ । नगरप्रमुख शिवाकोटीका अनुसार आगामी आर्थिक वर्षमा नगरका २०० परिवारका लागि घर निर्माण गरिने छ । प्रतिघर निर्माणका लागि नगरपालिकाको रु ७५ हजार, सहारा नेपालको २५ हजार र ह्याविट्याट फर ह्युमानिटीको रु ५० हजार लगानी रहेको बताइएको छ ।

घर हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य कार्कीले सन्थाल जातिको जीवनस्तर अझै पनि माथि उठ्न नसकेको बताउँदै विपन्न परिवारका सन्थालसहित अन्य समुदायका मानिसलाई समेत घर निर्माण गरेर हस्तान्तरण गरेपछि केही राहत मिलेको उनीहरुले महसुस गर्ने बताए ।

कार्यक्रममा सहारा नेपाल सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले नगरपालिकासहित झापाको आठ स्थानीय तहमा २५४ घर निर्माण गरिएको र केही पालिकाका घर समुदायलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News