नेकपाको एकता सुन्तला जस्तो होइन, स्याउ जस्तो हो – पौडेल


 


काठमाडौँ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु प्रसाद पौडेलले नेकपाको एकता सुन्तलाको बोक्रा उक्काएपछि केस्रा केस्रा बनाउन सक्ने जस्तो नभई एकढिक्का भएको स्याउ जस्तै मजबुद र प्रभावकारी योजनाको केन्द्रविन्दु भएको बताउनुभएको छ ।

काठमाडौँको पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, विदाई तथा स्वागत कार्यक्रममा बोल्दै महासचिव पौडेलले आगामी दिनमा नेकपामा कुनै गुट र उपगुटको अन्त्य हुनेपर्नेमा जोड दिनुभयो । उहाँले गुटका कारण पार्टीलाई क्षती पुग्ने भन्दै विगतका पाना हेर्नेभन्दा पनि वर्तमान र भविष्यलाई हेरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय हित नै सर्वपरि रहेको बताउँदै महासचिव पौडेलले वर्तमान नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको हितमा रहि समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन अहोरात्र खटिरहेको बताउनुभयो । उहाँले सरकारले मात्र देशलाई विकसित तथा परिस्कृत बनाउन नसक्ने बताउँदै सरकारी, गैरसरकारी संघसंस्था तथा आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

पार्टी एकतामा केही ढिलाई भएका कारण देश भित्र तथा बाहिरका प्रतिगामी तत्वहरु केही मात्रामा पार्टी तथा सरकारको विरुद्धमा उठिरहेको बताउँदै उहाँले आगामी दिनमा युवा विद्यार्थीले उक्त प्रतिगामी तत्वहरुको विरुद्धमा भण्डाफोर गरी सरकारले गरेका राम्रा कामहरु जनताका माझ पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले नै देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताउनुभयो । युवा संगठन नै गतिशिल संगठन भएकाले युवा सिर्जनसिल, खोजमूलक तथा लगनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने मूख्य जिम्मा युवा शक्ति भएको बताउँदै राष्ट्रिय युवा संघले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न कुने पनि मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिनुभयो । युवा शक्ति जनताको अधिकार, आकांक्षा, युवाको भाग्य र भविष्यको बाटो निर्धारणको पथमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समाजिक न्याय र समानता स्थापना गर्न पुरानो व्यवस्थालाई परास्त गर्न युवाको भूमिका अतुलनिय रहेको बताउँदै उहाँले अबको दिनमा राष्ट्र निर्माणको सामाजिक न्याय र समानताको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभयो । उहाँले विचार, सिद्धान्त तथा दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउँदै प्रगतिगामी बाटोमा युवा संघको बाटो निर्धारण गर्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि युवा वेरोजगारी हुनु नहुने बताउँदै रोजगारी विनाको युवा संघको नेता तथा कार्यकर्ता हुन नसक्ने समेत उद्घोष गर्नुभयो । युवा उत्पादनसँग जोडिनुपर्नेमा जोड दिँदै उहाँले युवाले देशमा नै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उहाँले वर्तमान समयमा युवाहरुको निम्ती प्राप्त उपलब्धी नै युवाहरुको माग भएको बताउनुभयो ।

साविका युवा संघ नेपालका इन्चार्ज तथा पूर्वपरराष्ट्र मन्त्री महेन्द्र पाण्डेले दुई संगठनहरु एकता भइसकेपछि विगतका इतिहास पल्टाएर हेरी अघि बढ्ने भन्दा पनि भविष्यको पाना निर्धारण गर्ने गरी राष्ट्रिय युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले कतिपय युवाहरुमा हुने उत्तेजना सिर्जनात्मक कार्यहरुमा कमजोर बनाउने भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो ।

त्यस्तै साविक वाइसिएल नेपालका इन्चार्ज मणि थापाले विश्व कम्युनिष्ट इतिहासमा भइआएका घटनाबाट नेपालले राम्रा कुरालाई आत्मसात् गर्दै नराम्रा कुराहरुलाई परिवर्तन गरि नेपालको कम्युनिष्ट आन्दोलन शिखरतामा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल महिला संघका संयोजक अमृता थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का अध्यक्ष ऐन महरलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ तथा सहसंयोजक रमेश पौडेलले आगामी दिनमा युवाहरुलाई गोलबन्द गरी एकताबद्ध रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले आगामी असोज ९ गते सम्ममा एकताका सम्पूर्ण कामहरु सम्पन्न गरी केन्द्रीय कमिटीको बैठक राख्ने, तिहारसम्ममा संघको विशाल राष्ट्रिय कार्यकर्ता भेला राख्ने, सदस्यता प्राप्त गरेका कुनै पनि नेता कार्यकर्ताले अनिवार्य रुपमा सदस्यता लिएको तीन महिनाभित्रमा रोजगारीमा जोडिनुपर्ने लगायतका निर्णयहरु सार्वजनिक गर्नुभयो ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्