प्रतिकृयावादीले युवालाई कमजोरी नठानुन्, आवश्यक परे प्रतिकार गर्न तयार हुन्छन् : सांसद बस्नेत


 


काठमाडौँ, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वर्तमान समयमा नेकपाको पार्टी एकताका सवालमा केही समय युवाहरु सक्रियता नभएको समयमा प्रतिक्रियावादीहरुले कमजोरी ठानेको बताउँदै दुई संगठनको एकतासँगै अब जिस्क्याउने प्रतिक्रियावादीहरुको दिनगन्ती शुरु हुने चेतावनी दिनुभएको छ ।

काठमाडौँको पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, विदाई तथा स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज बस्नेतले संघका युवाहरु रचनात्मक ढंगले अघि बढिरहेको समयमा कसैले कमजोरीको रुपमा ठाने त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

दुई संगठनको एकता भनेको दुई वादल भएको बताउँने कतिपय मानिसहरुमा रहेको भ्रमको अन्त्य भएको बताउँदै राष्ट्रिय युवा संघको एकतापश्चात आगामी दिनमा देशमा युवा जागरण तथा देशको विकास र समृद्धिको बाटामो ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । युवा आन्दोलन बैद्धिक तथा राजनीतिक भएको बताउँदै उहाँले अबको युवा आन्दोलन मुलुकको समद्धि प्राप्ती, रचनात्मक, सिर्जनसिलता नै अबको युवाको पहिचान भएको बताउनुभयो ।

प्रतिक्रियावादीको तागत युवाहरुले मूल्याङ्कन गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘ माघ निदाएको बेलामा कुकुरले बाघको नाक सुङ्दै यसले त केही गर्न सक्नदैन भन्ने सोच्छ तर बाट उठेपछि त्यसलाई स्यांक्छ । त्यस्तै पार्टीको एकताका सवालमा युवा आन्दोलन तथा भुमिका केही मात्रामा कमजोर भएको छ भनि कोहीले कमजोरीको रुपमा सोच्छ भने त्यो अब समाप्त भयो । युवा अब देशभर जुरमुराएर उठ्छन् । राष्ट्र निर्माणको बाटामो अघि बढ्छन् । उत्पादनशिलता बोकेको युवालाई प्रतिक्रियावादीको शरिरमा मालिस गर्ने अवस्था सिर्जना नगरियोस् ।’

युवा संगठनको एकता दुई वटा संगठनको मात्र नभई देशभक्त, राष्ट्रवादी शक्तिहरुको एकता भएको बताउँदै उहाँले संगठनको एकताले मुलुकको राष्ट्रवादी, देशभक्त आन्दोलनलाई समर्थन गर्ने बताउनुभयो । युवा आन्दोलनलाई रचनात्मक ढंगले अघि लान खोजेको हातलाई, उद्योगधन्दा कलकारखाना, विज्ञान र प्रविधि बोकेको हातलाई उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

संघको एकताका बाँकी काम समयभित्रै सम्पन्न हुने बताउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रिय हित नै संगठनको हित हो । विगतका कमि कमजोरीलाई मूल्याङ्कन गरी अघि बढ्नुपर्छ । आगामी तिहार अघि नै राष्ट्रिय युवा भेला गरी देशमा अब युवा संघ उठ्यो, जाग्यो र तिव्र विकास र समृद्धिको बाटोमा अघि बढ्यो । इमान्दारीता, क्रियाशिलता तथा क्षमताको आधारमा आगामी दिनमा कसैको मूल्याङ्क हुन्छ । कसैलाई काखा कसैलाई पाखा हुँदैन । कसैले सिफासिर गरेको आधारमा नेतृत्व प्रदान हुँदैन ।’

इन्चार्ज बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले नै देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताउनुभयो । युवा संगठन नै गतिशिल संगठन भएकाले युवा सिर्जनसिल, खोजमूलक तथा लगनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने मूख्य जिम्मा युवा शक्ति भएको बताउँदै राष्ट्रिय युवा संघले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न कुने पनि मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिनुभयो । युवा शक्ति जनताको अधिकार, आकांक्षा, युवाको भाग्य र भविष्यको बाटो निर्धारणको पथमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

समाजिक न्याय र समानता स्थापना गर्न पुरानो व्यवस्थालाई परास्त गर्न युवाको भूमिका अतुलनिय रहेको बताउँदै उहाँले अबको दिनमा राष्ट्र निर्माणको सामाजिक न्याय र समानताको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभयो । उहाँले विचार, सिद्धान्त तथा दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउँदै प्रगतिगामी बाटोमा युवा संघको बाटो निर्धारण गर्नुपर्ने बताउनुभयो ।

उहाँले कुनै पनि युवा वेरोजगारी हुनु नहुने बताउँदै रोजगारी विनाको युवा संघको नेता तथा कार्यकर्ता हुन नसक्ने समेत उद्घोष गर्नुभयो । युवा उत्पादनसँग जोडिनुपर्नेमा जोड दिँदै उहाँले युवाले देशमा नै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने बताउँदै उहाँले वर्तमान समयमा युवाहरुको निम्ती प्राप्त उपलब्धी नै युवाहरुको माग भएको बताउनुभयो ।

युवा संघको एकता जस्तै पार्टी अध्यक्षद्वय तथा अन्य सम्पूर्ण नेताहरुमा समेत मजबुद र प्रभावकारी बनाउने बताउँदै उहाँले आगामी दिनमा युवा संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । एकता मजबुद तथा हार्दिकतापूर्वक हुनुपर्ने बताउँदै उहाँले नेकपाको एकता सगरमाथा झैं विश्वमा उच्च, उत्साह र प्रेरणादायी रहेको समेत बताउनुभयो ।

प्रकाशित मिति: २७ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्