विकासमा जनता सहयोगी बन्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल


 


काठमाडाै, ११ असोज

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिमा जनता सहयोगी बन्नुपर्ने बताएका छन । विकास निर्माणका क्रममा स्थानीय जनताको अवरोध आउने गरेकातर्फ लक्षित गर्दै उनले विकास निर्माणमा सरकारसँग हातेमालो गर्न आग्रह गरे ।

काठमाडौँ महानगरपालिका–२ ले आज लाजिम्पाटमा आयोजना गरेको दशैँ, तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकासका काम अगाडि बढाउँदा सरकारलाई अप्ठ्यारो पर्नेगरी गतिविधि नगर्न आग्रह गरे ।

“सरकारले कोही पनि नागरिकलाई विचल्ली बनाउँदैन, तर नागरिकले सडक विस्तार गर्न सहयोग गर्नुपर्छ”, उनले भने, “अब जनता पनि सचेत हुनुपर्छ, विकास कसैले ‘थपथप’ दिँदैन, जनता सहयोगी बन्नुपर्छ ।” अब मुलुकमा विकास निर्माणले गति लिने उनको भनाइ थियो । उनले प्रणाली परिवर्तनसँगै ऐन, कानून परिमार्जन गर्न डेढवर्षको समय लागेकाले अब सरकारको ध्यान विकास र समृद्धितर्फ गएको बताए ।

निर्वाचनमा जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने गरी वर्तमान सरकार अगाडि बढेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “नयाँ व्यवस्थामा अभ्यस्त भइनसक्दा केही ढङ्ग नपुगेको हुनसक्छ, केही कमिकमजोरी पनि भए होलान्, विगतमा हामीले जनतसँग जे प्रतिबद्धता गरेका छौँ, त्यही प्रतिबद्धता अनुसार अगाडि बढ्छौँ ।” जनताले दिने दण्ड आफूहरुलाई मञ्जुर भएको बताउँदै उनले वर्तमान सरकार अधिनायकवादी भयो भनेर आरोप नलगाउन विपक्षीलाई आग्रह गरे ।

“हामी हाम्रा प्रतिबद्धता कार्यान्वयनको चरणमा छौँ, हिजोको गतल अभ्यासलाई हामीले परिवर्तन गर्नुछ, प्रणाली परिवर्तन भए पनि संरचना परिवर्तन नहुँदा जनतामा निराशा छ”, उनले भने, “जनताका बीचमा रहेर काम गछौँ, जनतासँग के वाचा गरेका छौँ, त्यो पूरा गर्छौँ, कहिलेकाहीँ लय नमिलेको हुनसक्छ, तर हामी जसरी भए पनि प्रतिबद्धता पूरा गर्छौँ ।” चाडपर्व एकता र सम्बन्धको सुत्र भएको उल्लेख गर्दै उनले तीनलाई चुड्न दिन नहुने बताए ।

“चाडपर्व केबल रमाइलोको विषय होइनन्”, उनले भने, “सामाजिक सद्भाव तथा एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधार हो ।” काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयको सहकार्य र सद्भावबाटनै ‘समृद्ध महानगर’ सम्भव हुने उल्लेख गर्दै महानगरको विकासमा हातेमालो गर्न आग्रह गरे । प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवाले स्थानीय टुकुचा खोलाको व्यवस्थापनमा केही सफलता मिलेकाले चालु आवमा प्रदेश सरकारको रु एक करोड विनियोजन गरेको जानकारी दिए ।

अर्का प्रदेशसभा सदस्य सीता अधिकारीले चाडवाडले सामाजिक सद्भाव, पारिवारिक एकता र राष्ट्रिय एकतालाई एकढिक्का राख्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कुनै तडकभडक नगरी स्वतस्फूर्तरुपमा पर्व मनाउन आग्रह गरे । कामपा वडा नं २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले डेढ वर्षभित्र वडाबासीले ‘समृद्ध वडा’ देख्न पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्