लैङ्गिक हिंसा अन्त्यका लागि समाजको सोचमा परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री राउत


 


धनुषा, ११ असोज

मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसा अन्त्यका लागि समाजको सोचमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताएका छन ।

मुख्य न्यायाधिवक्ताको कार्यालय तथा महिला बालबालिका तथा समाजिक न्याय समितिको आयोजनामा जनकपुरमा आज सम्पन्न लैङ्गिक हिंसासम्बन्धी न्यायिक प्रक्रिया विषयक कार्यशाला गोष्ठीको उद्घाटनसत्रमा मुख्यमन्त्री राउतले समाजको सोच परिवर्तन नभएसम्म लैङ्गिक हिंसा अन्त्य हुननसक्ने बताए ।

सामाजिक संरचना, पितृ सत्तात्मक सोच र कुरीतिले लैङ्गिक हिंसालाई बल दिएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले ती सबै समस्याको एकमुष्ट समाधान समाजबाट विभेदमा रहेका समूहलाई शिक्षित बनाउनु रहेकाले नै प्रदेश सरकारले बेटी पढाऊ बेटी बचाऊजस्ता कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गरे । लैङ्गिक हिंसाका दोषीलाई समयमै दण्डित गर्न सुझाव दिनुहुँदै मुख्यमन्त्री राउतले भने, “यस्ता अपराधमा संलग्न भएकाहरुलाई समयमै कडाभन्दा कडा सजाय दिनुपर्दछ, अनि मात्र लैङ्गिक हिंसालाई हामी न्यूनीकरण गर्न सक्दछौँ ।”

मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हरिकुमार पोखरेल, महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति जयनुल राइनसहितका वक्ताले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्