गगन थापाले भनेः पूर्वराष्ट्रपति यादवलाई सरकारी ढुकुटीबाट उपचार खर्च नदेउ


 


काठमाडौं, असोज १३

नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवलाई विदेशमा गराएको उपचार खर्च दिने सरकारको निर्णयको विरोध गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन भनेर एक वर्षअघि कानुन नै पारित गरेकोमा त्यसलाई उल्लंघन गरिनु आपत्तिजनक रहेको बताएका छन् ।

‘एक वर्षअगाडि पारित गरेको कानुले प्रष्ट भन्छ, ‘कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन,’ उनले भनेका छन्, ‘पूर्वराष्ट्रपति वा वर्तमान प्रधानमन्त्री जो भए पनि यो कानुन सबैलाई लाग्छ।’ तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू भन्दै थापाले प्रश्न गरेका छन्।

कानुनमा वैदेशिक उपचारबापत खर्च उपलब्ध नहुने स्पष्ट व्यवस्था हुदाँहुदै सरकारले पूर्वराष्ट्रपति डा. यादवलाई वैदेशिक उपचार खर्च उपलब्ध गराएकोे हो। जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा रहेको वैदेशिक उपचारबापत खर्च उपलब्ध नहुने भन्ने प्रावधानको उल्लंघन गर्दै मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पूर्वराष्ट्रपति यादवलाई भारतको चण्डीगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरेको छ।

यसअघि मन्त्रिपरिषद्को गत मंसिर ३ गतेको बैठकले पनि पूर्वराष्ट्रपति डा. यादवलाई कानुनविपरीत भारतमा उपचार गराउँदा लागेको खर्च बापत रु दुई लाख उपलब्ध गराउने निर्णय गरेको थियो।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोको लागि लाग्ने खर्च सरकारबाट उपलब्ध गराइने छैन भन्ने उल्लेख छ। तर कानुनको उक्त व्यवस्थालाई बेवास्ता र उल्लंघन गर्दै सरकारले विदेशमा उपचार गराएबापत पूर्वराष्ट्रपति डा. यादवलगायतलाई आर्थिक सहायताको उपचार खर्च दिएको हो । नेता थापाले यादवलाई उपचार खर्च दिने निर्णय फिर्ता लिन पनि माग गरेका छन् ।

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्