फिक्का लाग्छ दशैं


 


बबिता भुजेल
खोटाङ (हाल बिराटनगर मोरङ)

जब दसैँ आउँछ,
मन फुरुङ्ग हुन्छ
नयाँ उमङ्ग छाउँछ
नयाँ नानाको रहर हुन्छ
टीका लगाउन आतुर भइन्छ
आशिर्वाद केही चाहिन्न
मात्रै,
दिक्षिणा हेरिन्थ्यो,,,
यो त सब,,
बालापनमा हुदोँरहेछ ।

अब त,,
आफूले अभिभावकको
दायित्व पूरा गर्नुपर्छ,
जब,
गोजीमा पैसा हुँदैन
तब दसैँ तिहार आउँछ,
छोराछोरी सोध्छन,
मामु, नयाँ नाना कहिले ल्याईदिने ?
अनि घुम्न कता जाने हो ?
यत्तिका वर्ष भयो,
बाबा, बिदेश जानुभएको
यसपालि आउँनु हुन्छ हैन त ?

बिचरा, ती अबुझ नानीहरूलाई के थाहा,
बाबा परदेशमा पसिना र खुसीसँग
पैसा साट्दै हुनुहुन्छ । हामी कोलाहल
स्वार्थी शहरमा छौँ ।
कसैले कसैलाई चिन्दैन, चाडपर्व आएको हो वा गएको
केही थाहा हुन्न ।
गाउँमा भए पो,
दसैँ आउनु अगाडि नै,
माटो ल्याएर, घर रङ्ग्याउन सुरु हुन्छ,
चामल, चिउरा जोहो गर्न,
आधा रातदेखि ढिकी बज्न थाल्थे,
दसैँलाई भनेर पाखामा घाँस साँचेको हुन्थ्यो,
खेतमा लहलह धान झुल्थ्यो,
बारीमा कोदो फुलेको हुन्छ,
बारीकै डिलमा सयपत्री फूल फुलेको हुन्छ,
परदेशीहरु मनमा खुसी लिएर
गाउँ फर्किन्छन र तब दसैँ रमाइलो हुन्थ्यो,,
तर,
यहाँ, अस्तव्यस्त शहरमा
दसैँको कुनै रौनक छैन,
गाउँका मान्छेहरु
चाडपर्व, घर, बा–आमा सम्झिएर
गाउँ नै फर्किए ।
धान,कोदो कता झुल्छ
देख्न पाएको छैन,
फूल कता कसरी फुल्छ थाहै हुदैन ।
सम्पत्ति हुनेहरु महलको छतमा देखिन्छन्
ती कोही नभएका सडक बालबालिकाहरु
सडक पेटीमा देखिन्छन् ।
बिचरा,
त्यस्तालाई के चाडबाँड आउँछ,
म पनि,
स्वार्थी शहरमा छु ।
वर्षौ भयो बाध्यताले गाउँ फर्किन सकेको छैन,
आमाको हातको टीका जमरा लगाउन पाएको छैन,
मनमा खुसी पटक्कै छैन,
यश कारण,
मलाइ दसैँ फिक्का लाग्छ ।।

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्