चिनियाँ राष्ट्रपतिलाई नेपालमा यसरी गरियो भव्य स्वागत (हेर्नुहोस् तस्बिर)


 


काठमाडौं, असोज २५
दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा भव्य स्वागत गरिएको छ । राष्ट्रपति सी लाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए ।

राष्ट्रपति सी लाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ ।

राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि नेपाल भ्रमण भएकाले सरकारले सीको स्वागत तथा सम्मानमा कुनै कसर बाँकी राखेको छैन । उच्चस्तरीय भेटवार्ता गरी उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्