राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा निस्किँदै, को कुन देश ?


 


काठमाडौं, असोज २७

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने भएका छन् । राष्ट्रपति भण्डारी म्यानमार तथा प्रधानमन्त्री ओली अजरबैजान जान लागेका हुन्।

राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणमा बुधबार त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा भण्डारीले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने तथा यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ ।

यता प्रधानमन्त्री ओली भने कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग लिन अजरबैजानको राजधानी बाकु जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

१२५ सदस्य राष्ट्र सदस्य रहेको नामको सम्मेलन आउँदो कात्तिक ७ देखि ९ सम्म सञ्चालन हुनेछ। १९६१ म स्थापित नामले असंलग्न राष्ट्रको स्वतन्त्र पहिचान, विचार र नीतिको वकालत गर्छ ।

नेपाल नामको संस्थापक सदस्य राष्ट्र हो । संस्थापक राष्ट्रको हैसियतले आफ्नो बलियो समर्थन देखाउन नेपालका तर्फबाट प्रधानमन्त्री ओली जान लागेका हुन्।

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्