नेकपाका अर्का सांसद पनि कानूनी फन्दामा, पक्राउ पूर्जी जारी



काठमाडौं, असोज २९

जिल्ला अदालत काठमाडौंले दोलखाबाट निर्वाचित सत्तारुढ नेकपाका संघीय सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी गरेको छ। स्थानीय निर्वाचन ताका माओवादी समर्थक कार्यकर्तालाई ‘ज्यान मार्ने प्रयास गरेको’ मुद्दामा बयानका लागि अदालतमा उपस्थित गराउन अदालतले प्रहरीलाई आदेश दिएको हो ।

अदालतले जिल्ला प्रहरी कार्यालय दोलखामार्फत एक महिना अघि गुरुङको गौरीशंकर गाउँपालिका ५ सुरी स्थित स्थायी ठेगानामा पठाएको म्याद ईलाका प्रहरी कार्यालय सिंगटीको टोलीले गाउँपालिकाका प्रमुख स्वयंबहादुर खड्कालाई बुझाएको थियो। प्रमुख खड्काका अनुसार ज्यान मुद्दा सम्बन्धीको उक्त पत्रमा ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ ।

जिल्लाका प्रहरी प्रमुख डिएसपी मानबहादुर राईले काठमाडौं जिल्ला अदालतबाट ३५ दिनभित्र हाजिर हुनु भनेर सांसद गुरुङका नाममा आएको म्याद तामेलीको पत्र गाउँपालिकाका अध्यक्ष खड्कालाई प्रहरी टोलीले बुझाएको बताए ।

२०७४ को स्थानीय निर्वाचनका बेला दोलखाको गौरीशंकर गाउँपालिका २ को जुँगुमा तत्कालिन एमाले र माओवादी कार्यकर्ताबीच भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएपछि तत्कालिन एमाले जिल्ला नेतृत्वले पूर्वमन्त्री देवी खड्का, तत्कालिन माओवादीका स्थायी कमिटि सदस्य गंगा कार्की सहित ४० जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा आरोपित बनाईएका मध्ये जुँगु गाउँका विरध्वज खड्कालाई काठमाडौंको गौशालामा देखेपछि एमाले समर्थक कार्यकर्ताले मरनासन्न हुने गरी कुटपिट गरेर प्रहरीलाई बुझाएका थिए । तिनै खड्काले आफूलाई सांसद गुरुङको निर्देशनमा आक्रमण भएको भन्दै ज्यान मार्ने अभियोगमा जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News