दीपकलाई चुनाव नजिताएकोमा माधव नेपाल दुःखी, यसरी पोखे असन्तुष्टि


 


काठमाडौं, असोज ३०

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दीपकराज गिरीलाई चुनाव नजिताएकोमा आफूलाई मन नपरेको बताएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’को बुधबार राजधानीमा विशेष शो हेरिसकेपछि नेता नेपालले दीपकलाई चुनाव जिताउनुपर्थ्यो भन्ने सुझाव दिए । उनले फिल्मको कथा अधुरो रहेको भन्दै असन्तुष्टि समेत पोखे ।

जय नेपाल हलमा आयोजित विशेष शोमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, पर्यटन मन्त्री योगश भट्टराई, सामान्य प्रसासन मन्त्री लालबाबु पण्डित, पत्रकार रवि लामिछाने लगायत थुप्रै विशिष्ट व्यक्तिले फिल्म हेरेका थिए ।

फिल्म हेरेपछि पूर्व प्रधानमन्त्री नेपालले फिल्मको विषयबस्तु मन परेपनि फिल्मको क्लाइमेक्स मन नपरेको बताए । उनले फिल्मको क्लाइमेक्समा अभिनेता दीपकराजलाई राजनीतिक दृष्टिकोणबाट पतन गराएको चित्त नबुझेको उल्लेख गरे ।

उनले थपे, ‘फिल्ममा अभिनेता दीपकराज गिरी (कमरेड बिपी)लाई लोकप्रिय नेता बनाएर जनताको चाहना अनुसार उनलाई अन्तिममा चुनावमा उतारेर जिताउनु पथ्र्यो । यसले अझै जनतामा सकारात्मक प्रभाव पार्न सक्थ्यो ।’ फिल्मको कथा राम्रोसँग नमिलेको जस्तो आफूलाई लागेको उनले सुनाए । थपे ‘फिल्मले राजनीति उठाएको छ । त्यसको विकृति र विसंगति पनि उठाएको भए अझै राम्रो हुन्थ्यो ।’

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्