छिमेकीको गोठबाट गाई चोरी गरी जंगल लिएर काटियो, दुई नाबालकसहित तीन जना पक्राउ


 



धनगढी, कार्तिक ३
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा स्थानीय रामकृष्ण चौलागाईको घरबाट गाई चोरी गरेर जंगल लिएर काटेको आरोपमा दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् ।

विहीबार २ बजे राति घरगोठमा बाँधेको गाई चोरी गरि कसैले जंगलमा लिएर काटेको खबर सार्वजनिक भएपछि प्रहरीले यसबारे खोजतलास गरेको थियो ।

मासुका लागि गाई काटेको आरोपमा प्रहरीले वडा नम्बर १४ एच गाउँका दुई नाबालकसहित ४५ वर्षीय अशोक तामाङलाई पक्राउ गरेको हो ।

तामाङले सोही ठाउँका १२ वर्षीय र १४ वर्षीय नाबालकलाई साथमा लिएर गाईलाई गोठबाट चारी गरि नजिकैको जनकल्याण सामुदायिक वन भित्र मासुका लागि काटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । नाबालकको नाम भने प्रहरीले खुलाएको छैन ।

उनकाअनुसार गाई काटेर मासु भाग हालेर घरतिर गइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुको साथबाट गाई काट्न प्रयोग गरेको बन्चरो, हसिया, गंडसा बरामद गरिएको छ । प्रहरीले घटनाबार थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्