याेगमायाकाे ‘जलसमाधिस्थल संरक्षणमा जाेड’


 


yogmayaसुदीप अधिकारी

काठमाडौं, साउन ३१
क्रान्तिकारी नेपाली नारी योगमाया न्यौपानेको जन्मस्थान, कर्मस्थान, साधनास्थल र जलसमाधिस्थलको वृहत्तर निर्माण र बिकास गर्ने बिषयमा काठमाडौंमा एक छलफल कार्यक्रमको आयोजना गरिएको छ । भोजपुरे सेवा समाजको प्रयासमा छलफल कार्यक्रमको आयोजना गरिएको हो।

छलफल कार्यक्रममा सहभागी हुँदै योगमाया स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन बस्नेतले प्रतिष्ठानकै अगुवाईमा नेपाल सरकारका बिभिन्न निकायबाट अहिलेसम्म १ करोड बराबरको रकम निकासा भर्इ ५७ लाख खर्च भइसकेकाे र बाँकी काम निरन्तर अगाडी बढ्ने बताए । योगमाया र उनका अनुयायीको जलसमाधिस्थल माझुवाबेशी र साधनास्थल गौडेनीलाइ वृहत्तर रुपमा धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्नुपर्ने कुरामा उनकाे जोड थियो।

योगमायाको बिबिध आयामको बारेमा बिद्यावारीधी गर्ने प्रथम नेपाली डा० दिपेश न्यौपानेले अहिले कुरा भन्दा जलसमाधीस्थललाई प्रमुखता दिई त्यस स्थलको संरक्षण र बिकास गर्नुपर्ने आवश्यकता रहेको बताए। यतिका रकम खर्च हुँदा पनि जल समाधिस्थलको संरक्षण नभएकोमा उनले गुनासो ब्यक्त गरे।

नेपालेडाँडा परिवारका अध्यक्ष बिज्ञान अधिकारीले योगमाया स्मृति प्रतिष्ठानको कामकाे प्रशंसा गरे । उनले आउँदा दिनमा इर्खुवा पारी गौडेनी भन्दा पनि वारी जलसमाधिस्थल माझुवाबेशीमा बिकासको कामलाई प्राथमिकता दिन अनुरोध गरे ।

योगमाया न्यौपानेको बारेमा पुस्तक प्रकाशन गर्ने डा० गोबिन्दमानसिंह कार्कीले उनको जलसमाधीको मितीको बारेमा केही बिबाद नभएपनि जन्ममितिको बारेमा फरक फरक तथ्यहरु पाइएको बताए । ‘कतै बि०सं० १९२४ साल भेटिन्छ त कतै १९२५ साल लेखिएको छ।’ उनकाे भनाइ थियो ‘तर म बिभिन्न प्रमाणिक लेखको आधारमा १९२५ साललाई अधिकारीक मान्छु।’

पूर्व मन्त्री मुकुन्दबहादुर बस्नेतले योगमायाको योगदान र सामाजिक क्रान्ति विश्वस्तरको भएको उल्लेख गर्दै उनका कामको प्रचार प्रसार गर्न जन्मस्थान नेपालेडाँडा र कर्मस्थल कुलुङका ब्यक्ती ब्यक्तित्व मिलेर लाग्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा डिगबीर धनमायाँ प्रतिष्ठानका अध्यक्ष रबिन्द्र अधिकारी, दाँवाली मिलन क्लबका प्रतिनिधि, भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ् दोर्ची शेर्पा लगायतका बक्ताले आ-आफ्नो बिचार तथा राय पेश गरेका थिए।

yogmaya 1योगमाया न्यौपानेले बि०सं० १९२५ सालमा भोजपुर जिल्लाको नेपालेडाँडाको सिम्ले गाउँमा बुबा श्रीलाल न्यौपाने र आमा चन्द्रकलाको कोखबाट जन्म लिएकी थिइन्। उनको पाँच बर्षकै सानो उमेरमा गाउँकै रामहरि कोइरालासँग विवाह भएको थियो। यिनको बिहे भएको दुई वर्षमा यिनका पतिको मृत्यु भयो।

पछी फेरी गाउँकै प्रजापति डोटेल जैसीसित भागेर उनी आसामपुगिन्। यी दम्पतीबाट एउटी छोरी नैनकलाको जन्म भयो। पछी यो दम्पत्ती नेपाल फर्किएको र योगमाया चाँहीं सहमतिमै पतिसँग छुट्टीएर स्वर्गद्वारी, काठमाडौ, संखुवा-सभाको खेम्पालुङ लगायत बिभिन्न स्थान पुगी योग साधना गर्दै सामाजिक कुरिती बिरुद्द तत्कालिन राणा शासनलाई झकझकाउन पुगेकी थिइन्।

यिनी नेपालको पहिलो महिला संस्था ‘नारी समिति’ की संस्थापक मानिन्छिन्। तत्कालिन राणा प्रधानमंत्री राणा प्रधान मन्त्री जुद्ध शमशेरलाई दुई सयभन्दा बढी अनुयायीको हस्ताक्षरको मागपत्र बुझाएकी थिइन्।

सतीप्रथा हटाउन, जातभातको रीतिरिवाज हटाउन, जनताले न्यायनिसाफ पाऊन र शोषणरहित समाजको सृजना गरिन बिभिन्न माग राख्तै योगमायाले सामाजिक परिर्वनका लागि सांस्कृतिक आन्दोलनको शङ्ख फुकेकी थिइन्। मागको सुनुवाई नभएपछी २०४ जना अनुयायिसहित सामुहिक रुपमा अग्निसमाधीमा होमिने योजना बनाउँदा बनाउँदै काठमाडौंमा यो कुराको खबर पुगेको हुनाले उनी सहित उनका अनुयायिलाई पक्राउ गरिएको थियो।

उनका मागको कुनै सुनुवाई भएन बरु जेलमा कोचियो। चार महिनाको जेल जीवनपछि हालको नेपालेडाँडाको अरुणकिनार मझुवाबेसिमा सबै अनुयायिसहित नदिमा हाम फाली जलसमाधी गरी तत्कालिन सामाजिक कुरितिबिरुद्धको आवाजलाई पटक्कै नसुन्ने राणाशासन र संकिर्ण समाजको बिरोध गर्नुको अरु बिकल्प नभएको निर्णय सुनाइन्।

६८ जना अनुयायीसहित योगमायाले सामूहिकरूपमा वि.सं १९९८ असार ३१ गतेका दिन ‘निरंकुश राणा शासनको अवसान होस्, धर्म राजको स्थापना होस्’ भन्दै अरुण नदीमा हाम फालेर देह त्याग गरिन्। उनको समर्थन गर्दै त्यसपछि पनि अरु ९ जना महिलाले अरुण नदीमा बगेर देहत्याग गरेको लेखिएको भेटिन्छ।

प्रकाशित मिति: ३१ श्रावण २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्