नेविसंघमा ३२ माथिको नेतृत्व ल्याउने तयारीसँगै लफडा ! आफैले बनाएको विधान मिच्ला त कांग्रेसले ?


 


नेपाली काँग्रेसको शीर्ष नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघको नेतृत्व चयन गर्ने तयारी गरेपछि चर्को विवाद देखिएको छ । काँग्रेस शीर्ष नेतृत्वले ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि सहमति गरेसँगै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहले चर्को विरोध गरेको हो । नेविसंघका नेता सुशील भट्टले आफूहरुले लामो समयदेखि ३२ वर्षमुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्नेमा आवाज उठाउँदै आएको भन्दै नेतृत्व तहमा भएको विधान विपरितको सहमतिको विरोध गरे ।


उनले पार्टीबाट अनुमोदन भएकै नेविसंघको विधानलाई टेकेर कतिपय जिल्लाको अधिवेशन भइसकेको र केहीमा हुने क्रममा रहेको भन्दै अहिले फेरि ३२ माथिको नेतृत्व लागू गरिए पार्टी नेतृत्वको खिलाफमा जान पनि आफूहरु बाध्य हुने चेतावनी दिए । ‘पार्टीले अनुमोदन गरेको ३२ वर्षे उमेर हद तोकिएको विधानलाई टेकेर १५–२० वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ, केही जिल्लामा प्रक्रिया सुरु भइसकको छ’, उनले भने, ‘अहिले फेरि पार्टी नेतृत्वले ३२ वर्षमाथिको नेतृत्व चयन गर्दैगर्दा उत्तर के दिने ? विधान कार्यान्वयनमा गइसकेको अवस्थामा फेरि विधान विपरित जाने काम भए हामी पार्टी नेतृत्वको खिलापमा जान पनि बाध्य हुन्छौं ।’

विगतमा विधान कार्यान्वयनका लागि आफूहरुले निरन्तर पार्टी नेतृत्वलाई दवाव दिएको स्मरण गर्दै भट्टले कुनै पनि हालतमा ३२ वर्षमुनीबाटै नेतृत्व चयन गर्नुपर्ने र लोकतान्त्रिक पार्टी विधान सम्मत जानुको विकल्प नभएको बताए । यसैगरी नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्लेले पनि आफू ३२ वर्षमुनीबाटै नेतृत्व चयन गरिनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

३२ वर्षमुनीबाट नेतृत्व चयनको माग गर्दै काफ्ले समूहका केही नेविसंघका केही नेताहरुले बुधबारनै राजधानीमा पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ । माघ २८ गते संघको ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ ।

यही नेतृत्वविहीनताको अवस्थालाई पूर्ति गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले ६ महिनाभित्र संघको १२ औँ महाधिवेशन गराउने ‘टाइमलाइन’सहित नयाँ नेतृत्व ल्याउने तयारी गरेका छन् । जसमा शीर्ष नेताहरुले समेत सहमति जनाइसकेका छन् ।

प्रकाशित मिति: ६ कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्