वनकै जग्गामा आँखा : घोडाघोडी नगरपालिकाले बनाउँदैछ करोडौंको भवन


 


अंकुश कुँवर/कैलाली, कात्तिक २०
घोडाघोडी नगरपालिकाले आफ्नै भवन निर्माण गर्नका लागि वन क्षेत्रमा पर्ने जग्गा मास्न खोजेको पाइएको छ । नगरपालिकाले सुखड बजारको उत्तरतिर रहेको सडकसंगै जोडिएको वनमा दर्ता भएको जग्गामा भवन बनाउने तयारी गरेको हो । शिवशक्ति सामुदायिक वन समूह मातहत रहेको सो जग्गामा भवन निर्माणका लागि नगरपालिकाले बुधबार (आज) भवन शिलान्यास कार्यक्रमको आयोजनासमेत गरिसकेको छ।

भवनको शिलान्यासका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई बोलाइएको छ । मन्त्री शाहले नै बुधबार एक कार्यक्रमकाबीच भवन शिलान्यास गर्ने कार्यक्रम छ । त्यसका लागि नगरपालिकाले सबैलाई निमन्त्रणासमेत दिइसकेको छ ।

तर, घोडाघोडी नगरपालिकाले वनको जग्गामा भवन बनाउने तयारी गरेपछि शिवशक्ति सामुदायिक वन समिति र उपभोक्ताहरुले भने आपत्ती जनाएका छन् । नगरपालिकाले वन समितिको असहमतिका बावजुद पनि जबरजस्ती वन क्षेत्रमा पर्ने जग्गामा भवन बनाउन लागेको आरोप लगाएका छन् ।

वन समितिको असहमति हुँदाहुँदै पनि नगरपालिकाले पेलेरै सो जग्गामा भवन निर्माणका लागि बुधबार शिलान्यास कार्यक्रमसमेत आयोजना गरेपछि वन समिति विरोधमा उत्रेको छ । नगरपालिकाले वनको जग्गामा भवन निर्माण गर्न लागेको भन्दै त्यसलाई रोक्न समितिले मंगलबार वन डिभिजन कार्यालय पहलमानपुर, सव–डिभिजन कार्यालय सुखडमा पत्र दिएको छ भने वन डिभिजन कार्यालय धनगढीमा पनि पत्र पठाएको छ ।

नगरपालिकाले वन समितिसंग समन्वय नै नगरेर सो जग्गामा भवन निर्माणका लागि डीपीआर तयार गरेको र शिलान्यासको तयारी गरेको शिवशक्ति सामुदायिक वनका उपाध्यक्ष खेम जोशीले बताउनुभयो । उहाँले भवन शिलान्यास हुँदैछ भन्ने सुनेपछि मात्रै वन समितिले विरोध जनाएको बताउनुभयो ।

समितिका उपाध्यक्ष जोशीकाअनुसार द्वन्द्वकालमा हेलिप्याडको रुपमा प्रयोग गरिएको सो जग्गा २०६९ सालमा वनमा दर्ता भएको थियो । यो वर्ष पनि वनको कार्ययोजना स्वीकृत भएर दुई महिना अघि मात्रै नविकरणसमेत भइसकेको छ । समितिकाअनुसार दुई वर्ष अघि पनि तत्कालिन जिल्ला वन कार्यालयले विभिन्न खाले जडिबुडी तथा बोट विरुवा रोपेर संरक्षण गर्नका लागि बजेट विनियोजनसमेत गरेको थियो ।

सोहीअनुसार त्यो क्षेत्रमा जडिबुटीलगायत महत्वपूर्ण विरुवा रोपेर उद्यानसमेत बनाइएको थियो । तर, रातारात छाडा गाईबस्तुले जडिबुटी सखाप पारेपछि सो ठाउँ खाली रहेको थियो । वन समितिले सो ठाउँ अतिक्रमण गर्ने मनसायका साथ केही व्यक्तिहरुले रातारात छाडा गाई लगाएर जडिबुटी सखाप पार्न लगाएको आरोप लगाएको छ ।

सो जग्गामा भवन निर्माण गर्न डीपीआर तयार पारिसकेपछि वन समितिलगायत सरोकारवालाहरुको सहमति लिन केही दिन अघि मात्रै नगरपालिकाले भेला बोलाएको थियो । भेलामा पनि समितिका पदाधिकारी तथा सदस्यहरुले सो जग्गामा भवन निर्माण गर्न असहमति जनाएका थिए ।

भेलामा समितिबाट उपस्थिति नै नजनाएर बहिस्कार गरिएको थियोे । वन समितिका अध्यक्ष शिवप्रसाद डगौराले नगरपालिकाले भवन निर्माणका लागि वनको जग्गामा सहमति जनाउन आग्रह गरेपनि आफूहरु उपस्थिति नै नजनाएर फर्किएको बताउनुभयो । तर, सो जग्गामा वन क्षेत्रमा पर्ने भएपनि नगरपालिकाले २७ वटा सटरसहित करोडौंको लगानीमा भवन निर्माणको तयारी गरिसकेको छ ।

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले भने सो जग्गा वन क्षेत्रमा नरहेको दाबी गर्नुभएको छ । उहाँले खाली अवस्थामा रहेको सो जग्गालाई प्रयोगमा ल्याउन नगरपालिकाले भवन बनाउन लागेको बताउनुभयो । उहाँले बुधबार सो जग्गामा बन्ने भवनको शिलान्याससमेत गरिनलागिएको जानकारी दिनुभयो ।

‘सो जग्गामा खाली खेर गइरहेको जग्गा हो, केहीले विवाद मात्रै झिक्न खोजेका हुन्,’ नगरप्रमुख चौधरीले भन्नुभयो, ‘बुधबार भवनको शिलान्यस नै हुन्छ, त्यहाँ सात÷आठ करोडको लागतमा भवन बन्नेवाला छ ।’

बुधबार भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि तयारी र सो क्षेत्रमा सफाई गर्न गएको डोजरलाई भने वन समिति र उपभोक्ताहरुले चल्न दिएनन् । जग्गामा सफाई गर्न लागेको डोजरलाई हटाउनुका साथै कर्मचारीहरुलाई काम गर्न नदिएर समितिका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरुले लखेटेका छन् ।

यस विषयमा भने नगरप्रमुख चौधरीले आफूलाई कुनै जानकारी नै नभएको बताउनुभयो । उहाँले भवन शिलान्यासका लागि कर्मचारीहरु त्यसतर्फ गएको हुनसक्ने बताउनुभएपनि कर्मचारीलाई लखेटिएकोबारे आफू बेखबर रहेको बताउनुभयो ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्