मेरो बारेमा ओली र प्रचण्डलाई चुग्ली गर्नेहरुको आज हार भयोः जर्नादन शर्मा


 


काठमाडौं, कात्तिक ४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता जनार्दन शर्माले आफ्नो बारेमा अध्यक्षद्वयलाई चुग्ली गर्नेहरुको हार भएको बताएका छन् । पार्टी एकताका बेला भएको सहमति आज कार्यान्वयन भएपछि खुसी व्यक्त गर्दै पूर्व उर्जा तथा गृहमन्त्री शर्माले एकता भाड्ने प्रयास आज पूर्ण रुपमा असफल भएको उल्लेख गरेका छन् ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार दिँदै ओलीलाई पाँच वर्ष सरकार चलाउने जिम्मेवारी दिएको छ । यो निर्णयप्रति खुसी व्यक्त गर्दै शर्माले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन् ।

शर्माले पार्टी एकता ताकाको एक समितिमा रहेर एकताका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।

यस्तो छ स्टाटस :

कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने नेपाली जनताको सपना पुरा गर्ने काममा हाम्रा नेताहरुको शाहसिक निर्णयबाट नेकपा निर्माण भयो । उक्त निर्णयका आधार तयार गर्ने क्रममा सकारात्मक वातावरण तयार पार्ने जिम्मा पुरा गर्दै गर्दा मलाई धेरैले प्रश्न गरेका थिए । यस्तो मुर्खतापुर्ण कदम किन? मेरो बारेमा अध्यक्ष प्रचण्ड लाई चुग्ली गरे कसैले, अध्यक्ष केप ओलीलाई फसाएको आरोप लगाए।

मलाई थाहा थियो दुइटा नेताहरुको सम्पूर्ण वार्तामा म छु र सबै शब्द हेरेको छु, सुनेको छु । मलाई मेरो आदरणीय दुबै नेताप्रति विश्वास थियो । शैली र बोलीमा आ आफ्ना बिशेषता भएता पनि आफ्नो बचनमा प्रतिबद्ध छन् । मेरो विश्वासलाई आजको निर्णयले साबित गरेको छ । यसबाट अध्यक्ष केपी ओलीप्रति मेरो विश्वास थप बढेको छ ।

यो बीचमा पार्टी भाड्ने फुटाउन चाहनेको तमाम खेलको म पुरै जानकार थिए र पार्टी एकता बचाउन मेरो एकजना मित्र सहित रातदिन लागिरहे । आज नेताहरुले सबै भ्रमहरु चिर्दै सहमति र समझदारी कार्यान्वयनको नयाँ उचाईमा ल्याउनु भएको छ । यसबाट दुबै अध्यक्षको बीचमा नयाँ विश्वास पैदा भएको मात्र छैन कि एकताले नयाँ उचाई हासिल गरेको छ ।

अध्यक्ष तथा सम्मानित प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको काँधमा आम जनताको जीवनमा खुसियाली ल्याउन र समृद्धि नेपाल बनाउने अभियानलाई सफल पार्ने एक कार्यभार मात्र बाँकी छ । बलियो पार्टी र बलियो सरकार यसमा सफल हुनेछ । अध्यक्षद्वयलाई एकताको श्रेय युग युगसम्म जनताले दिनेछन् ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्