जन्मिँदैका दुश्मन भारत र पाकिस्तानलाई एकै ठाउँमा ल्याउँदै ओली सरकार !


 


काठमाडौं, मंसिर ११

भारत र पाकिस्तानबीच जन्मदैदेखिको शत्रुता रहेको कुराबारे दुनियाँ जानकार छ । यही दुश्मनीका कारण हजारौ नागरिकको ज्यान गइसकेको छ । त्यसमा नेपाली पनि छन् । गोर्खा सेनामा सहभागी भएका नेपालीले दुई देशबीचको दुश्मनीको परिणाम भोग्नुपरेको छ ।

सन् १९४७ पछि स्वतन्त्र भएर छुट्टिएका भारत पाकिस्तानबीच आजसम्म पनि दुश्मनी कायमै छ । यसैकारण उनीहरु अन्तर्राष्ट्रिय मन्चमा एक ठाउँमा उपस्थित हुँदैनन् । भर्खरै आइएमएफको सम्मेलनमा पनि भारत र पाकिस्तानका विदेशमन्त्री एक साथ देखिएनन् । पहिले भारत विदेशमन्त्री उपस्थित भए भने पछि मात्रै पाकिस्तानमा । यस्तो परिस्थितीमा केपी शर्मा ओली नेतृत्वको सरकार रहेको नेपालले भारत र पाकिस्तानलाई एकै ठाउँमा ल्याउन सफल भएको छ ।

प्रसंग दक्षिण एसियाली खेलकुद (साग) को । नेपालमा आयोजना हुन लागेको सागमा भारत र पाकिस्तान पनि खेल्दै छन् । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सँगै खेल्न नमानेका भारत र पाकिस्तान नेपालमा हुन लागेको सागमा भने विभिन्न खेलमा एकै मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

मंसिर १५ गतेबाट हुन लागेको सागमा सहभागी हुन भारत र पाकिस्तानका खेलाडीहरु नेपाल आउने क्रम जारी छ । खेलले एकताको सन्देश दिने अर्थमन्त्री युवराज खतिवडाले बताए ।

मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित खेलाडीलाई विशेष सम्बोधन कार्यक्रममा अर्थमन्त्री खतिवडाले राजनीतिक र आर्थिक विवाद भएका देशलाई खेलले एक ठाउँमा ल्याउने बताए । भारत र पाकिस्तान एकै ठाउँमा आएर एकै मैदानमा खेल्नु ठूलो सन्देश हुने उनको भनाई छ । भारत र पाकिस्तानलाई एकै मैदानमा नेपालले खेलाउन पाएकोमा उनले गौरव समेत गरे । ‘सार्क सम्मेलन गर्न नसकेपछि हामीले सागमा भारत र पाकिस्तानसहित दक्षिण एसियाली राष्ट्र समेटेर प्रतियोगिता गर्न पाएकामा खुसी छौं । खेलले मनमुटाव अन्त्य गर्ने र अन्य फोरममा पनि एकता देखिने विश्वास लिएका छौं’, उनले भने ।

भारत र पाकिस्तानको विवादकै कारण अध्यक्ष रहेको नेपालले सार्क गर्न सकेको छैन । पाकिस्तानमा तोकिए पनि भारतले सहभागी नहुने भनेपछि सार्क सम्मेलन हुन सकेको छैन । भारतले सार्कको सट्टा बिमस्टेकलाई अघि बढाएको छ । नेपाल भने सार्कलाई नै मिलाएर अघि बढ्नुपर्ने पक्षमा छ । दक्षिण एसियाको शान्तिका लागि सार्कको विकल्प नभएको नेपालको धारणा रहँदै आएको छ ।

यसअघि नेपालमा भएकाे सार्क शिखर सम्मेलनका क्रममा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच तत्कालिन प्रधानमन्त्री सुशील काेइरालाले हात मिलाउन लगाएका थिए । काेइरालाकै पहलमा नरेन्द्र माेदी र तत्कालिन पाकिस्तानी प्रम नवाज शरिफले कटुता बिर्सिदै हात मिलाएका थिए । यस हिसाबले यसअघि पनि नेपालले भारत र पाकिस्तानबीच राजनीतिक तहमा मित्रता कायम गराउने प्रयास गरेकाे थियाे । अहिले भने खेलकुदका माध्यमबाट याे कार्य अघि बढेकाे छ ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्