सेनाको मेडिकल कलेजले पनि विद्यार्थी ठगेको खुलासा, माफी माग्दै प्रधानसेनापतिले भनेः फिर्ता गर्छाैं


 


काठमाडौं, मंसिर १३

नेपाली सेनाको मेडिकल कलेजले पनि विद्यार्थीबाट बढी शुल्क लिएको खुलासा भएको छ । सुधारवादी प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको मेडिकल कलेजमा पनि सरकारले तोकेभन्दा बढी शुल्क लिएको भेटिएको बताउँदै फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । बढी शुल्क लिएको भनेर विद्यार्थीहरुले देशभर आन्दोलन गरिरहेका छन् । जसमा सेनाको कलेज पनि परेको छ । यो तथ्य बाहिरिएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार प्रधानसेनापति थापालाई बोलाएर सोधेका थिए ।

त्यसक्रममा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढी शुल्क लिएको थापाले स्वीकार गरेका थिए । साथै बढी लिएको शुल्क फिर्ता तथा क्षमायाचना गरिने प्रतिबद्धता उनले जनाएका थिए । मन्त्रालय स्रोतले भन्योः सेनापति थापाले केही बढी शुल्क लिएको स्वीकार गरेका छन्, शुल्क समायोजन गरेर सरकारको निर्णय कार्यान्वयनमा सघाउने प्रतिबद्धता पनि जनाएका छन् ।

सरकारले गत आर्थिक वर्षसम्म मेडिकल कलेजले एमबीबीएस अध्ययनमा काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र काठमाडौं उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ शिक्षण शुल्क लिन पाउने निर्णय गरेको थियो । तर त्यसविपरीत धेरै मेडिकल कलेजले बढी शुल्क लिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

विद्यार्थीको आन्दोलनपछि शिक्षा मन्त्रालय र मेडिकल कलेजबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको छ । तर, उक्त सहमति मेडिकल कलेजको पक्षमा भएको भन्दै नमान्ने विद्यार्थीहरुको अडान छ ।

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्