यी हुन् भूकम्प गइरहने देश (सूचिसहित)


 


भूकम्प गइरहने देशको सूचि तयार पार्न ज्यादै कठिन छ । समग्र जापान भूकम्पीय जोखिमयुक्त क्षेत्रमाथि पर्ने भएकाले यहाँ भूकम्पको धक्का बढी महसुस गरिन्छ ।

सबैभन्दा बढी संख्यामा भूकम्प जाने देश भने इन्डोनेसिया हो, किनभने जापानजस्तै भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने इन्डोनेसिया जापानभन्दा धेरै गुणा ठूलो छ ।

प्रतियुनिट क्षेत्रफलमा बढी भूकम्प आएको गणना गर्ने हो भने टोंगा, फिजी र इन्डोनेसिया अग्रस्थानमा आउँछन् ।

भूकम्पले निम्त्याउने क्षतिलाई आधार मान्ने हो भने चीन, भारत र टर्की अग्रस्थानमा आउँछन् । यी विरोधाभाषका बीच वैज्ञानिकले यी देशलाई सबैभन्दा बढी भूकम्प गइरहने देश मानेका छन् ।

जापान

सबैभन्दा बढी भूकम्प जानेे देशको नाम लिनुपर्दा धेरैले जापानको नाम लिने गर्छन्। भूकम्पका दृष्टिकोणले संवेदनशील प्यासिफिक क्षेत्रमा रहेकाले जापानमा भूकम्प गइरहने गर्छ ।

अमुरियन प्लेट र ओकिनावा प्लेट तल फिलिपिन सी प्लेट छ । र, यी सबको माथि जापान छ । यी प्लेटबीच अक्सर घर्षण भइरहने गर्दा जापानमा भूकम्प गइरहन्छ । साथै, जापानका विभिन्न क्षेत्रमा बेलाबेला ज्वालामुखी विष्फोटसमेत हुने गर्छ ।

इन्डोनेसिया

इन्डोनेसियाका विभिन्न शहर र टापूहरूमा भूकम्प गएको समाचार बारम्बार आउने गर्छ । इन्डोनेसियामा ज्वालामुखी विष्फोट पनि सामान्य हुने भएकाले यहाँको जमिन हल्लिरहने गर्छ ।

टर्की

युरेसिया प्लेट, अफ्रिकी प्लेट र अरेबियन प्लेटको बीचमा पर्ने टर्की भूकम्प गइरहने अर्को देश हो । टर्कीका अधिकांश भूभाग अनाटोलियन प्लेटमाथि पर्छन्, जुन प्लेट अन्य प्लेटसँग जुधिरहने गर्छ ।

कुनै समय ६ देखि ७.२ रेक्टर स्केलबीचका भूकम्प टर्कीका कुनै न कुनै क्षेत्रमा गइरहने गर्थ्यो । अहिले केही मत्थर भए पनि मध्यम म्याग्निच्युडका भूकम्पहरू त्यहाँ दिनहुँजसो जाने गर्छ ।

मेक्सिको

नर्थ अमेरिकन प्लेट, कोकोस प्लेट र प्यासिफिक प्लेट भूकम्पका दृष्टिकोणले ज्यादै संवेदनशील मानिन्छन्। दुर्भाग्यवश, मेक्सिको यी तीन संवेदनशील प्लेटमाथि पर्छ ।

प्लेटहरूको हलचलका कारण मेक्सिकोमा ज्वालामुखी पनि विष्फोट भइरहन्छ। सन् २०१४ मा गएको ७.२ रेक्टर स्केलको भूकम्पले मेक्सिकोमा ठूलो विनाश भएको थियो ।

एल साल्भाडोर

भूकम्पका दृष्किोणले मात्र नभई बाढी, पहिरोलगायत अन्य प्राकृतिक विपत्तिका दृष्टिकोणले पनि ल्याटिन अमेरिकी मुलुक एल साल्भाडोर संवेदनशील छ ।

विगतमा एल साल्भाडोरमा शक्तिशाली भूकम्पका झट्का जाने क्रम तीव्रजस्तै भए पनि अहिले आएर यो क्रम केही मत्थर हुँदा त्यहाँका बासिन्दालाई त्राण मिलेको छ ।

पाकिस्तान

सन् २०१३ मा पाकिस्तानमा ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो । यति शक्तिशाली भूकम्प गए पनि त्यहाँ हजारभन्दा कमको संख्यामा मानवीय क्षति हुनुलाई धेरैले शुभ मानेका थिए। त्यसअघि पनि पाकिस्तानका विभिन्न क्षेत्रमा भूकम्प गइरहने गर्थ्यो ।

नेपालजस्तै पाकिस्तान पनि युरेसियन र इन्डियन टेक्टोनिक प्लेटको बीचमा रहेकाले पाकिस्तानमा भूकम्प गइरहने गर्छ ।

पाकिस्तानका सिन्ध र पञ्जाब प्रान्त इन्डियन प्लेटको सिमान्त क्षेत्रमा पर्छन् भने बलुचिस्तान युरेसियन प्लेटमा पर्छ। यी तीन प्रान्तमा भूकम्पका झट्का गइरहने गर्छ ।

फिलिपिन्स

भूकम्प सिर्जना गरिरहने प्यासिफिक प्लेटको सिमान्त क्षेत्रमा रहेको फिलिपिन्स भूकम्प गइरहने अर्को देश हो । प्यासिफिक क्षेत्रमा भूकम्प गइरहने भएकाले यसलाई ‘रिङ अफ फायर’समेत भन्ने गरिन्छ । फिलिपिन्समा ज्वालामुखी विष्फोट पनि भइरहने गर्छ ।

इक्वेडर

इक्वेडर विषेशगरी ज्वालामुखी विष्फोटका दृष्टिकोणले संवेदनशील छ । ज्वालामुखी विष्फोट भएर तथा जमिनमुनिका चट्टानबीच हलचल भएर इक्वेडरमा भूकम्प गइरहने गर्छ ।

नाज्का प्लेट र साउथ अमेरिकन प्लेटको बीचमा रहेको इक्वेडरको भूगर्भमा विभिन्न ‘फल्टलाइन’ छन्, जसकारण त्यहाँ भूकम्प आएको समाचार हामीले समय–समयमा पढिरहनुपर्छ ।

भारत

क्षेत्रफलका हिसाबले भारत ठूलो भएकाले पनि भारतका कुनै न कुनै ठाउँमा निश्चित समयको अन्तरालमा भूकम्प गइरहने गर्छ । इन्डियन प्लेटमाथि भारत रहेको छ ।

इन्डियन प्लेट वार्षिक ४७ मिलिमिटरका दरले सर्ने भएकाले भारतमा भूकम्प आइरहन्छ । भारतको काश्मिर, हिमाली क्षेत्र र गुजरात भूकम्पका दृष्टिकोणले बढी संवेदनशील छन् ।

नेपाल

युरेसियन र इन्डियन प्लेटबीच रहेको नेपाल पनि भूकम्प गइरहने देश हो। नेपालको भूगर्भमा समेत विभिन्न ‘फल्टलाइन’ छन्, जसकारण भूकम्पका सानातिना झट्का बेलाबेलामा महसुस हुने गर्छन् । युरेसियन प्लेट र इन्डियन प्लेटबीच घर्षण हुँदा नेपालमा भूकम्प जाने गर्छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्