झापा कारागार सार्ने तयारी


 


झापा, मंसिर २४
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ ।
विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक हजार १५९ कैदीबन्दी रहेका छन् । कारागारभित्र पुरुष एक हजार ६२, महिला ९१ र आश्रित बालवालिका ६ जना बस्दै आएका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा दुर्घटना जोखिम बढेको चौतर्फी गुनासो बढेकै बेला प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित स्थानीय सिफारिस समिति झापाको बैठकले झापा कारागारलाई भद्रपुर–१० कलबलगुढीस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको जग्गामा स्थानान्तरण गर्न सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रशिक्षण केन्द्रको नाममा रहेको कित्ता नं २४७ को ३२ बिघामध्ये उत्तरपूर्वतर्फको १० बिगाहा जग्गामा झापा कारागार स्थानान्तरण गर्नुपर्ने निर्णयसहितको सिफारिस गृहमन्त्रालयमा पठाएको छ ।

हालको कारागार रहेको स्थानभन्दा करिब तीन किलोमिटर पश्चिममा सरकारको स्वामित्वमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको जग्गा छ । विसं २०४६ अघिसम्म पञ्चायत प्रशिक्षण केन्द्रका रुपमा चल्तीमा रहेको सो प्रतिष्ठान तीन दशकदेखि प्रयोगविहीन अवस्थामा छ । त्यहाँ पुराना कार्यालय भवन, आवासगृह र सभाहल छन् भने खाली जग्गामा झाडी उम्रिएको छ । सोही स्थानमा कारागार स्थानान्तरण गर्ने पहल भइरहेको हो ।

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्