प्रदेश १ मा भ्रमण वर्षको तयारी तीव्र


 


विराटनगर, मंसिर २५
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न प्रदेश १ सरकारले तयारी तीव्र पारेको छ । प्रदेशका पर्यटनस्थलहरुको प्रवद्र्धन गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन प्रदेश सरकारले छिमेकी देशहरुमासमेत प्रचार अभियान थालेको छ ।

प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति नै गठन गरेर सरकारले चार जना ‘सेलिब्रेटी’ लाई प्रदेश पर्यटन दूत नियुक्त गरेको छ । किर्तिमानी पर्वतारोहीहरु कामिरिता शेर्पा, मिङ्मा शेर्पा, पिङ्की राजघढिया र कलाकार दीपाश्री निरौलालाई प्रदेश पर्यटनको ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । त्यस्तै किर्तिमानी अल्ट्राधाविका मिरा राईसँग पनि पर्यटन दूतको नियुक्तिका लागि कुराकानी भइरहेको प्रदेश पर्यटन मन्त्रालयले जनाएको छ ।

यसैगरी आउँदो पुसमा विराटनगरमा भव्य कार्यक्रम आयोजना गरेर भमण वर्षको सुरुआतको तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रममा छिमेकी भारतका तीन राज्य पश्चिम बंगाल, सिक्किम र बिहारका मुख्यमन्त्री वा पर्यटनमन्त्रीहरुलाई उपस्थित गराउन उच्चस्तरीय पहल पनि भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ पर्यटनको अपार सम्भावना भएको क्षेत्र भन्दै प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा यो क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्