अपार सम्भावनाको जगमा प्रदेश १


 


विराटनगर, मंसिर २६

संघीयताले के दियो ? स्वाभाविक रुपमा उठ्ने प्रश्नको उत्तर हाजिरीजवाफ शैलीमा दिन सम्भव छैन । तर, पिँधमा पारिएका नागरिकका लागि संघीयता वरदान किन सावित हुँदैछ भन्ने प्रमाण जताततै देखा परिरहेको छ । यसले जनतामा आशा जगाउने काम गरिरहेको छ ।

हिजोसम्म जनताका मिहीन कुरा संसद्मा पुग्न महिनौं लाग्थ्यो । अहिले स्थानीय र प्रदेश सरकार छन् । प्रदेशमा शक्तिशाली संसद् छ । यसले जनताको आवाज निर्णायक ठाउँमा सजिलै पुर्याएको छ ।

‘जनतालाई शक्तिशाली बनाउने र उनीहरुको पक्षमा काम गर्ने बलियो आधार तयार भएको छ’, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको कथन छ ‘त्यसैले संघीयता अब क्रमशः संस्थागत हुने दिशामा अग्रसर छ ।’ संघीयताको कार्यान्वयनको झण्डै २० महिने अनुभवका आधारमा प्रदेश १ ले अनेकौं सम्भावनाको ढोका उघारेको मुख्यमन्त्रीको दाबीलाई केही तथ्यहरुले प्रमाणित पनि गर्छन् ।

संसारकै अग्लो ठाउँ सगरमाथा र होचो स्थान केचना भएको प्रदेश नम्बर १ मुलुकका अन्य प्रादेशिक संरचनाभन्दा बलियो र यथेष्ठ स्रोत–साधन सम्पन छ । नेपालको राजनीति विरासतमा अग्लो कद राखेको प्रदेश नम्बर १ जलबिद्युत, खाद्यान्न, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र प्राकृतिक स्रोत–साधनले भरिपूर्ण छ ।

मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको छ । धार्मिक हिसावले प्रदेश नम्बर १ मा खोटाङको हलेसी, ताप्लेजुङको पाथीभरा र सुनसरीको बराह क्षेत्र चर्चित स्थल पर्दछ । यी तीनै धार्मिक स्थलमा आन्तरिक र बाह्य धर्मानुरागीकोे जहिल्यै भीड लाग्छ ।
भारत र चीनसँग सीमा नै जोडिएको र बंगलादेशबाट समिप मै रहेको प्रदेश नम्बर १ मा भारत तथा तेस्रो मुलुकमा वस्तुको आयात–निर्यातका लागि सहज नाकाहरु छन् । विराटनगरको रानी र झापाको काँकरभिट्टा भन्सार नाकाबाट आयात हुने वस्तुबाट मात्र दैनिक सरदर १२ करोडभन्दा बढी रुपैयाँ राजस्व संकलन हुन्छ । यी दुबै भन्सार नाकाबाट भारत र तेस्रो मुलुक वस्तुको आयात÷निर्यात हुन्छ ।

प्रदेश नम्बर १ मा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाँडीडाँडा र खामखर्क, सोलुखुम्बुमा नाम्चेसहित चारसहित १३ वटा विमानस्थल छ । काठमाण्डौं र विराटनगरबाट यी सबै ठाउँमा हवाई उडान भइरहेको छ । अब छिट्टै भद्रपुर र विराटनगरबाट हलेसी र पाथिभराका लागि हवाइ सेवा सुरु हुँदैछ ।

अकाश मार्ग बाहेक केन्द्रीय राजधानी काठमाडौंसम्म पुग्न पूर्व–पश्चिम राजमार्ग, वीपी कोईराला राजमार्ग र निर्माणाधिन मध्य पहाडी राजमार्ग छ । धरान–चतरा–उदयपुर हुँदै हेटौंडा जोडिने अर्को वैकिल्पक राजमार्ग निर्माणाधीन छ । प्रदेश नम्बर १ कै सवभन्दा फराकिलो ‘फोर लेन’को सडक विराटनगरको रानीदेखि धरानसम्म निर्माण जारी छ । भारतीय नाका रानीदेखि चिनियाँ नाका किमाथान्कासम्म यो निर्माणाधिन सडक सञ्जाल जोड्ने सरकारी तयारी छ । धमाधम निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाले प्रदेश नम्बर १ लाई पानी र विद्युतमा थप ‘शक्तिशाली’ बनाउने छ ।

पूर्वी नेपालको १४ जिल्ला समेटिएको प्रदेश नम्बर १ मा अन्नभण्डार मानिने झापा, मोरङ र सुनसरी पनि पर्दछ । कृषिमा आधुनिकिकरण गरेपछि यी तीन जिल्लामै उत्पादन हुने खाद्यान्नले प्रदेश नम्बर १ ‘आत्मनिर्भर’ बन्न सक्छ । यहाँ हरेक सिजनमा सरदर १२ लाख ४० हजार मेट्रिक टन धान उत्पादन हुन्छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो तथ्यांकमा बर्खे धान मात्र समेटिएको छ । मुलुककै अन्नभण्डार मानिएको झापामा कन्काई सिंचाई आयोजना र मोरङ तथा सुनसरीमा मोरङ–सुनसरी सिंचाई आयोजना सञ्चालनमा छन् । यी दुइटै सिंचाई आयोजना मुलुकका ठूलामा पर्छन् ।

यस्तै, हरेक वर्ष सरदर २ लाख ४० हजार मेट्रिक टन मकै प्रदेश नं. १ मा उत्पादन हुन्छ । वार्षिक दुई अर्ब रुपैयाँ भन्दा बढीको तरकारी धनकुटा जिल्लाले मात्रै उत्पादन गर्छ । चिया, अलैंची, अम्रिसो, अदुवा, सुन्तला प्रदेश नम्बर १ को पहाडी जिल्लामा मनग्यै फल्छ ।

जडिबुटीको प्रचुर सम्भावना रहेको प्रदेश नम्बर १ मा पेट्रोलियम पदार्थको संकेत पाइएपछि मोरङको बाहुनीमा दुई पटक खानी उत्खन्न समेत गरिसकिएको छ । बढी रेमिट्यान्स भित्रिने तराई–मधेसका धनुषा, नवलपरासीपछि प्रदेश नम्बर १ को मोरङ जिल्ला पनि पर्छ ।

नेपालकै पहिलो उद्योग विराटनगर जुट मिल स्थापना भएको प्रदेश नम्बर १ को मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै साना–ठूला ५ सय भन्दा बढी उद्योग छन् । मुलुकको अर्थतन्त्रमा ठूलो टेवा (कर तिर्ने) पु¥याउने टप टेन उद्योग मध्ये आरती स्ट्रीप्स, युनाइटेड स्प्रीट, गोल्छा समूह, बिशाल ग्रुप, जाजु ग्रुप र सारडा गु्रप लगायतका औद्योगिक फर्म र घरानाको व्यापार–व्यवसाय प्रदेश नम्बर १ बाटै फस्टाइरहेको छ ।

प्रदेश नम्बर १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउतका अनुसार ठूला, साना र मझौला गरेर यहाँ ८ सय ५० देखि ९ सय उद्योग र कलकारखाना छन् । ‘औद्योगिक वातावरण बनिसकेको प्रदेश हो यो, उद्योगपति राउतको भनाइ छ .‘निर्यातमा सरकारले प्रोत्साहन गरे नजिकै रहेको कोलकत्ता पोर्टको भरपूर फाइदा उठाउन सकिन्छ । निर्माणाधिन र चालु बिद्युत परियोजनाले पनि प्रदेश नम्बर १ मा उद्योगी–व्यवसायीलाई व्यापार–व्यवसाय गर्न उत्प्रेरित गरेको राउतको भनाइ छ ।

प्रदेश नम्बर १ हरेक हिसाबले आफँैमा अब्बल देखिन्छ, राजनीतिक विश्लेषक रामबाबु दाहालले भने–‘आर्थिक समृद्धिको यो प्रदेशमा प्रशस्त आधार छ । किमाथांका नाका खुलेपछि चीनसँगको यसको आर्थिक गतिविधि बढ्नेछ ।’ विश्लेषक दाहालका अनुसार पर्यटनस्थल, शिक्षा–स्वास्थ्य र सडक सञ्जालमा प्रदेश नम्बर १ आफँैमा धनी छ ।

प्रदेश नम्बर १ मा पूर्वाञ्चल विश्वविद्यालय र तीनवटा मेडिकल कलेज छन् । प्रदेश संसद्ले मनमाहेन प्राविधिक विश्वविद्यालय सम्बन्धि विधेयक पारित गरेर प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापनाको ढोका खुला गरेलगत्तै विश्वविद्यालय स्थापनाको काम सुरु भएको छ । धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरमा नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेज सञ्चालित छन् । शिक्षा, विज्ञान र मानविकी तहमा अब्बल अध्यापन हुने सरकारी र नीजि कलेजको हव जस्तै बनेको छ । झापामा पनि बीएण्ड सी मेडिकल कलेज सम्बन्धन पर्खेर बसेको छ ।
कावेली करिडोर अन्तर्गत इलाम, पाँचथर र ताप्लेजुङमा मात्रै १० वटा जलविद्युत आयोजना चालु अवस्थामा छन् । ८६.९७ मेगावाट कुल क्षमताका यी १० वटै जलविद्युत आयोजनाबाट हाल ३१ मेगावाट बिद्युत उत्पादन भइरहेको छ । मोरङ–सुनसरी सिंचाई आयोजनाको दुईवटा टर्वाइनबाट छुट्टै ३.२ मेगावाट विद्युत उत्पादन हुन्छ ।

प्रदेश नम्बर १ जातीय र भौगोलिक रुपमा पनि समावेशी र विविधतायुक्त छ । पहाड–हिमालका ११ वटा र तराई–मधेसका ३ वटा जिल्ला समेटिएको प्रदेश नं. १ सांस्कृतिक विविधताको थलो पनि हो । ऐतिहासिक रुपमा माझकिराँत, पल्लो किराँत र कोच क्षेत्रलाई समेटिएको यो प्रदेशको भूगोलमा सबै जाति र धार्मिक समुदायको बसोबास छ ।

मानवशास्त्री डोरबहादुर विष्टले लेखेको ग्रन्थ फटालिज्म एण्ड डेभलपमेन्टमा ‘परम्परागत रुपमा नेपालका पूर्वी क्षेत्रमा बसोबास गर्ने प्रमुख समुदायको नामबाट परिचित भएपनि एकआपसमा मिलेर बसेको दृष्टान्त उल्लेख गरेका छन् । प्रदेश नम्बर १ को क्षेत्रफल २५ हजार ९५ बर्गकिमी छ । जनगणना २०६८ को तथ्याङ्क अनुसार प्रदेश नं. १ को जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ छ । प्रदेश नम्बर १ को जनसंख्या र भौगोलिक क्षेत्रफलले नेपालको १७ प्रतिसत हिस्सा ओगटेको छ । प्रदेशका साक्षरता प्रतिशत ५२ छ ।

प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृति पनि विविधता छ । त्यसैले सामथ्र्यको दृष्टिले पनि प्रदेश न. १ अत्यन्त सम्भावनायुक्त रहेको त्रिभुवन विश्व विद्यालयका सहप्राध्यपक डा. शम्भु खतिवडाले बताए । यहाँ प्राकृतिक श्रोतका रुपमा सप्तकोशी जलाधार क्षेत्र र यसबाट २० हजार मेगावाटको विद्युत उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमालहरु मकालु, लोत्से, कन्चनजंगा र कुम्भकर्ण हिमाल छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, कन्चनजंघा संरक्षण क्षेत्र र कोसी टप्पु वन्यजन्तु आरक्ष छ । धनकुटाको त्रिवेणीबाट शुरु भएर चीनको तिब्बतसम्म पुगेको एसियाकै लामो अविच्छेदित पर्वत र यही पर्वत श्रृङ्खालामा गुराँसको राजधानी तीनजुरे–मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल पर्छ । नेपालको कुल निकासीको ४१.४ प्रतिशत प्रदेश १ कै छ ।

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्