राजधानीमा बढ्दो जाम


 


१६ सय किलोमिटर सडकमा ९ लाख५० हजार गाडी

काठमाडौं, भदौ १८

सवारी साधनको संख्या दिनदिनै थपिने तर सडक बिस्तार त्यो गतिमा नहुँदा राजधानीमा सवारी जाम बढेको छ । बिहान कार्यालय समय र अपह्रान्न कार्यालय छुटेपछि एक किलोमिटर सडक पार गर्न झण्डै १ घण्टा लाग्न थालेको यात्रीहरु पीडा सुनाउँछन् ।

शुक्रबार महानगरीय यातायातको गाडी ललितपुरको ग्वार्काेबाट एकान्तकुनाको यातायात व्यवस्था कार्यालय जान चढेका नवलपरासीका रामप्रसाद आचार्यलाई गन्तव्य पुग्न झण्डै आधा घण्टा लाग्यो । ग्वार्काेबाट एकान्तकुना पैदल हिड्ना पनि बढीमा २० मिनेट लाग्दैन ।
सडकमा जाम बढ्नुको मुख्य कारण सवारी साधनको चाप नै हो ।

राजधानीमा बागमति अञ्चलमा दर्ता भएका गाडी गुड्छन् । अनि राजधानी बाहिर दर्ता भएका पनि झण्डै एक लाखबढी काठमाडौं, ललितपुर र भक्तपुरमा गुडेका देखिन्छन् । यातायात व्यवस्था कार्यालयका अनुसार बागमतिमा ९ लाख ५० हजार १ सय ७८ गाडी दर्ता भएका छन् ।

अनि राजधानी बाहिरकासमेत गणना गर्दा करिव साढे १० लाख गाडी दैनिक गुड्छन् । तर, सडक भने १ हजार ५ सय ९४ किलोमिटरमात्र छ । सडक बिस्तार नहुने तर सवारी साधनको संख्या दिनदिनै थप हुनेक्रमले सडकमा जाम बढेको महानगरीय प्रहरी कार्यालय प्रमुख एआइजी प्रतापसिंह थापाले बताए ।

राजधानीमा कोटेश्वर, नयाँबानेश्वर, गौशाला, चाबहिल, कोटेश्वरदेखि कलंकी, कालिमाटी, त्रिपुरेश्वरबाट कालिमाटी, सिंहदरबार, थापाथली, पुतलीसडक क्षेत्रमा अधिक जाम हुने गरेको छ । केही स्थानमा सडक निर्माण जारी भएकोले जाम बढी हुन्छ भने केहीमा जीर्ण सडकका कारण पनि जाम हुने गरेको ट्राफिक प्रहरी जनाउँछ ।

‘सडक जाम कम गर्न सडक निर्माणमा बिशेष ध्यान दिनु पर्छ वा सवारी दर्तामै रोक लगाउनु पर्छ ।’ एक ट्राफिक प्रहरीले भने । ती ट्राफिक प्रहरीका अुनसार जोरबिजोर प्रणाली अपनाउनेदेखि साना सवारी बस, माइक्रो, मिनीबस, टेम्पोलाई बिस्थापन गरेर ठूला र दुई तले बस सञ्चालन गर्न सकेमा जाम न्युनिकरण गर्न सकिन्छ ।

गत आर्थिक वर्षको अन्त्य गत असार मसान्तसम्ममा बागमतिमा बस १० हजार ३ सय ७९, मिनबस ९ हजार ५ सय ७५, ट्रक, मिनीट्रक २० हजार ८ सय ४७, क्रेन, स्काइभेटर ४ हजार ८ सय ७७, कार, जिप र भ्यान १ लाख २५ हजार ४ सय ३९ र पिकअप १७ हजार १ सय ७० दर्ता भएका छन् ।

यस्तै माइक्रो २ हजार १ सय २३, टेम्पो २ हजार ५ सय २८, मोटरसाइकल ७ लाख ७० हजार, पावर ट्याक्टर २ हजार ९ सय ८, एम्बुलेन्स ५ सय ३०, बिदेशी कूटनीतका गाडी ३ हजार ७ सय ६६ र इलेक्ट्रोनिक रिक्सा ३६ वटा दर्ता भएका छन् ।

चीनमा निर्मित ब्याट्रीबाट चल्ने स्कुटरमात्र करिव ५ हजार राजधानीमा सञ्चालित छन् । यसरी सवारी साधनको संख्या ठूलो हुनु तर त्यसको तुलनामा सडक बिस्तार गर्न नसक्दा दिनदिनै जाम बढेको ट्राफिक अधिकारीहरुको तर्क छ ।

सरकारले सवारी साधनको संख्या थप नगर्ने वा सडक बिस्तारलाई प्राथमिकतामा नराख्ने हो भने एक दुई वर्षभित्र राजधानीमा गाडी सडकमा निकाल्न पनि समस्या हुने ट्राफिक प्रहरीका डिएसपी ज्ञानेन्द्र पाख्रिनको भनाइ छ ।

प्रकाशित मिति: १८ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्