देश बदल्न हिडेका दुई माअाेवादीको कथा


 


ब्यवसायले जोडेको सम्बन्ध
ध्रुव सुवेदी
भोजपुर, जेठ १८
उनिहरु एकताका सँगै थिए, एउटै विचार, एउटै पार्टी । देश परिवर्तन गर्न भनेर हतियार बोकेर भूमिगत समेत भए ।

करिब एक दशक जति एउटै पार्टीमा रहेर काम पनि गरे । खै ! देश त कति बदलियो, तर समय र उनिहरु भने अवश्य । एमाओवादीको विभाजनले उनिहरु एकै नदीका दुई किनारा भए । तर त्यो किनारालाई जोडिदिएको छ ब्यवसायले ।

०५८ मा तत्कालिन नेकपा (माओवादी) मा लागेका सन्तोष सुनार (३३) अहिले एमाओवादीमा छन् भने ०६० बाट शसस्त्र युद्धमा हिडेका त्रिलोचन विक (३३) वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै यतिबेला चन्द नेतृत्वको नेकपा माओवादीमा छन् ।

उनिहरु दुबै जिल्ला कमिटी सदस्य हुन् । पार्टी विभाजनसँगै अलग—अलग पार्टीमा रहेका उनिहरुलाई एकै ठाउँमा ल्याएको छ न्यू भोजपुरे खुकुरी कृषि औजार उद्योगले ।

डेढ बर्ष अघि संविधानसभाको दोस्रो चुनावको गर्मी चढ्दै थियो । एमाओवादीमा रहेको सुनार चुनावी सभा गर्दे हिडेका थिए भने माओवादीमा रहेका विक चुनाव बहिष्कार अभियानमा सक्रिय थिए । कतिसम्म भने चुनावीसभा गर्न गोगने गाविसबाट कोट आउँदै गर्दा गोगने खोलामा आएको एमाओवादीका उम्मेदवार सहितको टोलिलाई भिर माथिबाट बम हानियो ।

एमाओवादीले नेकपा—माओवादीले बम प्रहार गरेको शंका गर्याे । र, शंकाकै आधारमा यीनै विक सहित चार जनाको विरुद्धमा प्रहरीमा उजुरी दियो ।

शंकाकै भरमा गरिएको त्यो उजुरी त्यत्तिकै ढिसमिस भयो । त्यतिबेलाको त्यो कटुतापूर्ण दुस्मनी अहिले ब्यवसायिक हातेमालोसम्म आइपुगेको छ ।

२०७० माघ महिनामा खुकुरी उद्योग खोलेका सुनार र विक विचार फरक—फरक भए पनि एकै ठाउँ देखिन्छन् । त्यतिबेला पाँच लाख लगानी गरेर खोलेको खुकुरी उद्योगमा यतिबेला १५ लाख लगानी पुगेको छ । भर्खरै नेपाल बैंक लिमिटेडबाट उनिहरुले पाँच लाख ऋण लिएर उद्योगमा लगानी गरेका हुन् ।

मासिक दुई लाख कारोबार गर्दे आएको खुकुरी उद्योगबाट २० प्रतिशत नाफा हुने गरेको सुनार सुनाउँछन् । उद्योगले १० जनलाई रोजगारी समेत दिएको उनको भनाई छ । खुकुरी र भोजपुर पर्यावाची शब्द नै हो । खुकुरीका लागि भोजपुर प्रशिद्ध मानिन्छ ।

दलित समुदाय अहिले पनि पुरानो बालिघरे प्रथामा नै अल्झिएका छन्, सुनार भन्छन, परम्परागत प्रथालाई ज्याला प्रणालीमा रुपान्तरण गर्दे भोजपुरे खुकुरीको संरक्षणका लागि यो उद्योग खोलिएको हो ।

द्धन्द्धमा हिडियो, प्राप्त राजनीतिक हैसियत जोगाउन थप राजनीति गर्नुछ, सुनार थप्छन्, आर्थिक स्रोत विना राजनीति कठिन छ, त्यसका लागि उद्योग स्थापना गरिएको हो ।

राजनीतिक दलका नेता प्रति जनताको वितृष्णा बढ्दो छ, विक भन्छन राजनीतिमा लागेका मान्छेको पारदर्शी आम्दानीको स्रोत नहुँदा जनतामा यो वितृष्णाले बल पाएको हो, त्यसैले पारदर्शी राजनीति गर्नका लागि यो उद्योगमा लागेका हौं ।

राजनीतिमा लागेको सुनार र विकको उद्योगले छोटो समयमा नामसँगै राम्रो दाम कमाउन पनि सफल भएको छ । विचार आस्था फरक भए पनि ब्यवसाय भने एकै ठाउँ बसेर गर्ने सकिन्छ भन्ने उदाहरण समेत उनिहरु बनेका छन् ।

राजनीतिसँगै हुर्कदैँ ब्यवसाय

उमेरले ५७ बर्ष पुगेका भरत तामाङको दुई दशक लामो सक्रिय राजनीतिक जीवन वित्यो । युवावस्था हुँदा ०४६ को परिवर्तनमा होमिएका तामाङले ५६ दिन जेल जिवन समेत भोगे ।

०४७ बाट एमालेमा सक्रिय रहेका तामाङ ०५५ बाट ०६८ सम्म निरन्तर जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहदै आए । भोजपुर सदरमुकाममा रहेको भोजपुर गाविसको अध्यक्ष समेत बनेका तामाङको राजनीतिसँगै लुकेको पाटो पनि छ ।

उनि पाँच बर्ष यता राजनीतिसँगै ब्यवसायमा पनि जोडिएका छन् । उनि जिल्लामा पहिलोपटक उन्नत जातका गाई ल्याएर ब्यवसायिक गाईपालन गर्दे आएका छन् ।

गाईपालनबाट शुरु भएको उनको ब्यवसायिक यात्रा डेरी सञ्चालनसम्म आइपुगेको छ । गत सालबाट उनले डेरी सञ्चालनमा ल्याएका हुन् । गाईपालनमा दुई लाख खर्च गरेका तामाङले डेरी सञ्चालनमा २५ लाख लगानी गरेको बताए ।

गाईपालनका लागि पशु चिकित्सालयबाट ढुवानी अनुदान पाएका तामाङले डेरी उद्योगमा भने आफ्नो र साथीभाईसँग सरसापट लिएर उद्योग खोलेको बताए ।

इलामबाट आठवटा गाई ल्याएर उनले गाई पाल्न थालेका हुन् । गाइपालन र डेरीमा चारजनाले रोजगारी समेत पाएका छन् । डेरीबाट मासिक ६५ हजार आम्दानी हुन थालेको तामाङको भनाई छ ।

राजनीति सेवा हो, तामाङ भन्छन राजनीति गर्नका लागि आर्थिक स्रोत चाहिन्छ, त्यसका लागि ब्यवसाय गर्नु आवश्यक छ ।

देशमा दिनानुदिन वेरोजगार समस्या बढेको बढ्यै छ, युवा शक्ति दिनहुँ विदेश पलायन भईरहेका छन्, तामाङ भन्छन्, रोजगार बृद्धि र युवा पलायन रोक्नका लागि गाउँठाउँमै ब्यसायिक उद्यम गर्नु जरुरी छ । आफूले यसका लागि राजनीतिक जिवनमै रहदा ब्यवायमा हात हालेको उनको भनाई छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्