१५ वर्षीय बालकलाई जन्मकैदको फैसला


 


काठमाडौं, पुस १७
सिन्धुलीमा एक १५ वर्षीय बालकलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो ।

उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले यो फैसला गरेको हो ।

छलिमायासँग यौनप्रस्ताव राख्दा अस्वीकार गरेपछि बालकले असोज २ गते हत्या गरेका थिए । बालिकाको घर नजिकैको जंगलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो । छलिमायाको शव असोज ३ गते घाँटी निमोठी, घाँटी थिची हत्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।

बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो । बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्नेछन् ।

प्रकाशित मिति: १७ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्