भारतीय मिडियाको दाबीः काठमाडौंमा अन्डरवर्ल्ड डन दाउदको मुख्य अड्डा, पाकिस्तानी दूतावासको संलग्नता!


 


काठमाडौं, माघ २
अपराधिक क्षेत्रमा आफ्नो दबदबा बनाएका अन्डरवर्ल्डका डनका रुपमा चिनिँदै आएका दाउद इब्राहिमले पछिल्लो समय काठमाडौंलाई समेत आफ्नो अड्डा बनाउँदै आएको खुलासा दाउदकै समूहमा काम गरिसकेका एजाज लकडावालाले गरेका छन् ।

नेपालबाटै भारतको पटना पुगेका एजाजलाई केही दिनअघि भारतीय प्रहरीले पक्राउ गरेको थियो । उनीसँग सोधपुछ गरिरहेको भारतीय प्रहरीले दाउदका बारेमा अहम् खुलासा भएको जनाएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार एजाजले काठमाडौंमा अड्डा बनाएर दाउदले आफ्नो कारोबार गर्दै आएको बयान भारतीय प्रहरी समक्ष दिएका छन् ।

साथै भारतीय एक अनलाईन सञ्चार माध्यमले नेपालबाट भारतमा नक्कली नोट पठाउने गरेको आरोप समेत लगाएको छ। कुनै समय दाउदको ग्याङ्गका सदस्य समेत रहेका एजाज युसुफ लकडाले मुम्बई प्रहरीको सोधपुछमा यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ । लकडालाई ८ जनवरीमा भारत विहारको राजधानी पटनाबाट पक्राउ गरिएको थियो । क्यानडापछि दाउदले आफ्नो दोस्रो महत्वपूर्ण स्थानमा नेपाललाई नै बनाएको समाचारमा दाबी गरिएको छ ।

भारतीय अनलाईन जागरणमा प्रकाशन भएको एक समाचारमा जनाइएअनुसार नेपालमा पाकिस्तानी दूतावासका प्रमुख अधिकारीको माध्यमबाट दाउदले आफ्नो धन्दा चलाइरहेका छन् । त्यस्तै भारतीय अनलाइन प्रभाव खबरका अनुसार काठमाडौंमा दाउदको कम्पनीले करोडौंको लगानी गरेको र निकै ठूलो कारोबार सञ्चालन गरेको छ। सबैभन्दा धेरै लगानी इन्फास्ट्रक्चरको क्षेत्रमा गरिएको समाचारमा दाबी गरिएको छ । तर समाचारमा कम्पनीको नामबारे भने उल्लेख गरिएको छैन ।

कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा पनि दाउदले लगानी गरेको र यसमा नेपालका कयौं नेताहरुको पनि पार्टनरशिप रहेको दाबी समाचारमा गरिएको छ । तर कुन कुन नेताको पार्टनरशिप छ भन्नेबारे भने उल्लेख गरिएको छैन । दाउदको कम्पनीले सन् २००८–२००९बाट नै काठमाडौंमा लगानी गर्न शुरु गरेको र उक्त कारोबार मुख्य रुपमा लकडाले नै हेर्ने गरेको उनले भारतीय प्रहरीलाई दिएको वयानमा उल्लेख गरिएको समाचारमा जनाइएको छ ।

काठमाडौंको बासबारीमा दाउदको एक आलीशान होटल रहेको र उनी काठमाडौं आउजाउ गरिरहने दाबी समाचारमा गरिएको छ । लकडाले मस्ट वान्टेड दाउदको पाकिस्तानको कराचीमा दुई घर रहेको समेत बताएको समाचारमा जनाइएको छ । भारीय प्रहरीको अपराध शाखाका शीर्ष अधिकारीहरुका अनुसार दाउदका भाइ त्यहाँ बस्छन् ।

भारतीय प्रहरी अधिकारीहरुले लकडाको गिरफ्तारी ठूलो उपलव्धि भएको बताएका छन् र उनीबाट दाउदले गर्ने भारतीय नक्कली नोट कारोबारमा महत्वपूर्ण जानकारी प्राप्त भएको छ । मुम्बइ प्रहरी अधिकारीहरुका अनुसार एजाज लकडा कुनै समय दाउदका महत्वपूर्ण सदस्य थिए र उनी ड्रग्स तस्करीलगायत महत्वपूर्ण गतिविधिलाई हेर्थे । तर १९९३ मा मुम्बइमा भएको विस्फोट पछि उनी छोटा राजनसँगै दाउद ग्याङ्गबाट अलगिएका थिए । छोटा राजनसँग तनाव बढेपछि उनले आफ्नो अलग्गै गिरोह बनाएका थिए र नेदरल्याण्डमा बसेर ड्रग्स तस्करी गरिरहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्