पथरीको राजमार्ग उत्तरमा महिलाको शव


 


मोरङ, फागुन ३

मोरङको पथरीशनिश्चरे नगरपालिका –१० स्थित भालुगौंडा जंगलमा आज दिउँसो एक महिलाको शव फेला परेको छ । पहाडे मुलको जस्तो देखिने अन्दाजी ५०/५५ वर्षीय महिलाको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईका अनुसार पूर्वपश्चिम राजमार्गबाट करिव ८ सय मिटर उत्तरको जंगलमा शव फेला परेको हो । पानी पर्दा पहिरो गएर धसिएको जस्तो ठाउँमा शव भेटिएको घटनाको अनुसन्धान सुरु गरिएको बजगाईले बताउनु भयो । उहाँका अनुसार दिउँसो घाँस दाउरा गर्न गएका स्थानीय बासिन्दाले महिलाको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

शव उठाउँदा किटनासक विषादीको गन्ध आए पनि घटनास्थलमा कुनै विषादीका बट्दाहरु फेला नपरेको प्रहरीले जनाएको छ । महिलको शरीरमा कुनै चोटपटक नभेटिएको जनाएको छ । ‘बाहिर हेर्दा कुनै चोटपटक देखिंदैन,’ प्रहरी निरीक्षक बजगाईले भन्नु भयो, ‘ती महिला को हुन् र कहाँबाट त्यहाँ पुगिन् भन्ने पनि खुल्न सकेको छैन ।’ उहाँले महिलाको हत्या हो की हैन भनेर यकिन गर्न नसकिएको बताउनु भयो ।

साथबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिले सञ्चालन गरेको ८०८६ नम्बरको बसको टिकट फेला परेको छ । टिकटमा नाम नलेखेको र काठमाडौं मात्रै लेखेका कारण ठेगाना पनि स्पष्ट हुन नसकेको जनाइएको छ । शवलाई पोष्टमार्टमका लागि मोरङको उर्लाबारस्थित मंगलबारे अस्पतालमा लगिएको र पोष्टमार्टमपछि सबै कुरा खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्