मासिक असुली गरेपछि छुट, प्रहरी नै तस्करीमा


 


बुटवल , माघ ११
रूपन्देहीको सीमावर्ती क्षेत्रमा दुई प्रहरी संगठनकै ‘सेटिङ’ मा तस्करी मौलाएको छ। भैरहवा भन्सारबाट बिना भन्सार सामान भित्रिनेदेखि मर्चवार क्षेत्रका नाकाबाट प्याज, कपडा, कुखुरा, मोर्टरपार्टस्, हार्डवेयरका सामानहरू तस्करी हुने गरेका छन्।

प्रहरीले नियन्त्रणको सट्टा ‘मासिक असुली’ गरेर तस्करीमा छुट दिने गरेको छ। बुधबार मात्रै भैरहवाबाट भित्रिएका डेढ करोड मूल्य बराबरका मोबाइल काठमाडौं प्रहरीले नियन्त्रणमा लियो। रूपन्देहीका दर्जनभन्दा बढी चेकपोष्ट पार गर्दै काठमाडौं पुर्‍याइएका ती मोबाइल नागढुंगामा पक्राउ परेका हुन्। यसबीचमा ५० भन्दा बढी चेक प्वाइन्ट छन्। तर विभिन्न कम्पनीका ६३४ थान मोबाइल काठमाडौं पुगेपछि मात्रै भेटिए।

भैरहवा भन्सार प्रमुख कमलकुमार भट्टराईले उक्त सामग्री एकैपटक नेपाल नभित्रिएको दाबी गर्छन्। ‘यो भन्सारबाट भित्रिएको सामान होइन’, उनले भने, ‘बाहिरको गैरकानुनी काम रोक्ने जिम्मा प्रहरीको हो।’ रूपन्देहीको सीमा क्षेत्रमा खटिएका जनपद र सशस्त्र प्रहरीले नै तस्करीमा सेटिङ मिलाएपछि तस्करी मौलाएको हो। यी दुई प्रहरीबीच कसले कमाउने भन्ने ‘धन्दा’ नै चलेको छ।

रूपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले घुमुवा प्रहरीमार्फत सेटिङ मिलाएको आरोप छ। ‘असईको नेतृत्वमा चारजना प्रहरीलाई सेटिङ मिलाउन खटाइएको छ’, एक प्रहरी अधिकृतले भने। प्रहरी सहायक नायव निरीक्षक हृदय चौहान, प्रहरी जवान वीरेन्द्र रोक्का क्षेत्री, शंकरराज गिरी र कृष्ण श्रेष्ठ उनका खास घुमुवा रहेको प्रहरीहरू नै बताउँछन्।

केही दिनअघि सशस्त्र प्रहरीले ७१६ ग्राम सुनसहित मर्चवारका तीन जनालाई पक्राउ गरेको थियो। ती घटनामा संलग्नमध्ये दुई जनालाई रूपन्देही प्रहरीले छाडेको छ। जनपदले छाडेका तस्करलाई सशस्त्रले समातेको बताइन्छ।

गत पुस २७ गते भैरहवाको डण्डा चेकपोष्टबाट सशस्त्र प्रहरीले ५० हजार रकम घुस लिएर छोडेको गाडी जनपथ प्रहरीले पक्राउ गरेपछि यी दुई प्रहरी संगठनबीच तिक्तता बढेको छ। पुस २७ गते ग।१च ३५०५ नम्बरको निजी कालो कारमा लुकाइछिपाइ नेपाल भिœयाएको मोटरपार्टस् सहितको गाडीलाई इलाका प्रहरी कार्यालय मंगलापुरले पक्राउ गरेको थियो।

ती सामान जनपदले भन्सार चलान गरेको थियो। सशस्त्र प्रहरी बल २७ नं। गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले भने दुई प्रहरी संगठनमा कुनै तिक्तता नभएको दाबी गरे। सीमा क्षेत्रका सशस्त्रका चेकपोष्टहरू यही गणमातहत छन्।

जनपद र सशस्त्र प्रहरीका केही अधिकृतको सेटिङमा तस्करी हुँदा संगठनकै बदनाम भएको छ। रूपन्देहीको कालीदह, मर्चवार, पक्लीहवा, भगवानपुर नाकाबाट कुखुराको तस्करी भएको भन्दै किसानले गुनासो गरेका छन्। मोटरसाइकल र साइकलमा दिनरात कुखरा तस्करी भइरहँदा प्रहरीले नियन्त्रण गरेको छैन। प्रहरीले कुखुरा तस्करी गर्ने गिरोहबाट मासिक १ लाख ५० हजार असुल गर्ने गरेको आरोप छ। सीमा क्षेत्रबाट कपडासमेत तस्करी भइरहेका छन्। नेपाल–भारत चल्ने बसमा हुने तस्करीबाहेक सीमाकै चोरबाटोबाट समेत तस्करी भएको छ।

भन्सारकै छेउमा १० चेकिङ प्वाइन्ट भए पनि ती मुकदर्शक बनेका छन्। घुमुवा प्रहरीले मासिक ८० हजार असुल गरेर फुटकर सामान ओसार्न छुट दिएको स्रोतले जनाएको छ। ‘आधा दर्जन महिला दिनभर सामान ओसार्छन्, प्रहरीले नदेखे झैं गर्छ,’ बेलहियाका एक व्यापारी भन्छन्, ‘ती सामान साँझ परेपछि भैरहवा, बुटवल हँुदै काठमाडौं पुग्छन् ।’

मर्चवार, सेमरपानी, धकधई, लुम्बिनी, कालीदह नाकाबाट ठूलो मात्रामा कपडा तस्करी हुने गरेको छ। कपडा तस्करीको सेटिङमा मासिक करिब चार लाख प्रहरीले उठाउने गरेको बताइन्छ। ‘हाकिमको निर्देशन भन्दै’ त्यस क्षेत्रका चौकी प्रमुखले तस्करी नियन्त्रण गरेका छैनन्। ‘समाते पनि एकैछिनमा छाड्नुपर्छ’, एक प्रहरी अधिकृतले भने।

रूपन्देहीका प्रहरी प्रमुख हेमबहादुर थापा तस्करी नियन्त्रणमा रहेको दाबी गर्छन्। ‘पहिला हुने गरेको तस्करीसमेत नियन्त्रणमा रहेको छ’, उनले भने, ‘भन्सारमै पठाएको सामानको तथ्यांकले समेत यो पुष्टि हुन्छ।’ रूपन्देहीकै मेउडिहवा, एअरपोर्ट, मर्चवार, धकधई, पजरकट्टी, सेमलपानी नाकाबाट हार्डवेयर, इलेक्ट्रिक सामान तस्करी हँुदै आएको छ। अंगे्रज, हिरा गुप्ताको समूह तस्करीमा रूपन्देहीको ठूलो गिरोह मानिन्छ। सेटिङ मिलेकाले मासिक ३ लाख प्रहरीलाई बुझाएर सामान ल्याउँदै आएका छन्।

तस्करले सशस्त्र प्रहरीलाई समेत मासिक रकम दिएर बाटो सहज बनाएका छन्। सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका चेक प्वाइन्ट छन्। कपिलवस्तु, नवलरासीका नाकाबाट मौलाएको तस्करी पछिल्लो समय रूपन्देही सरेको हो। प्रहरीले स्थानीय पशुपालक किसानहरूलाई समेत सताउने गरेको मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले बताए। आजको अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्